१४ जनाको नेपाली टोली आइतबार इजरायल जाँदै



काठमाडौँ। 

प्रारम्भिक बाल शिक्षा तथा विकासमा इजरायलको दृष्टिकोण र अनुभव हासिल गर्ने उद्देश्यले आइतबार नेपालबाट १४ जनाको एक टोली प्यालेष्टिनी लडाकु समूह हमाससँग युद्धरत इजरायलतर्फ प्रस्थान गर्दैछ ।

उनीहरु इजरायलको हाइफास्थित हाइफा विश्वविद्यालयमा “प्रारम्भिक बाल शिक्षा तथा विकासमा नवीनतम दृष्टिकोण” विषयक १० दिने अन्तर्राष्ट्रिय पाठ्यक्रममा सहभागी हुने क्रममा इजरायलका विभिन्न विद्यालय तथा प्रारम्भिक बाल शिक्षा केन्द्रको भ्रमण गरी प्रारम्भिक बाल शिक्षाबारे इजरायलको अवधारणा र त्यहाँको अभ्यासबारे जानकारी लिनेछन् ।

उक्त टोलीमा काठमाडौँ उपत्यकाका साथै बाहिर जिल्लाका सरकारी तथा निजी विद्यालयका शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको छ ।
उनीहरुको सम्मानमा नेपालका लागि इजरायलका राजदूत खनान गोदेरले शुक्रबार बिशालनगरस्थित आफ्नो निवासमा दिवाभोजको आयोजना गरेका थिए ।

उक्त अवसरमा राजदूत गोदेरले व्यक्तिको व्यक्तित्व विकासका लागि मात्र नभई समग्र राष्ट्रको सामाजिक र आर्थिक विकासका लागि पनि प्रारम्भिक बाल शिक्षा र विकास महत्वपूर्ण रहेको बताए । उनले सहभागी टोलीलाई बधाई दिंदै प्रारम्भिक बाल शिक्षा र विकासमा इजरायलको दृष्टिकोण र अभ्यासबारे जानकारी हासिल गरेर त्यसलाई व्यवहारमा उतार्दै नेपालमा पनि यससम्बन्धी एउटा विशिष्ट दृष्टिकोणको सुरुवात गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणमा प्यालेष्टिनी लडाकु समूह हमासले बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि इजरायलले पहल गरिरहेको जिकिर गर्दै उक्त आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको पनि स्मरण गरेका थिए ।

सोही अवसरमा पूर्व राजदूत रमेशप्रसाद खनालले सहभागीहरुलाई इजरायल, हाइफा र हाइफा विश्वविद्यालयका बारेमा आफ्नो जानकारी र व्यक्तिगत अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्