किसानलाई अनुदानमा विषादी छर्ने स्प्रे ट्याङ्की वितरण 



सिन्धुली । 

सिन्धुलीको सुनकोशी गाउँपालिकाले किसानलाई विषादी छर्ने स्प्रे ट्याङ्की अनुदानमा वितरण गरेको छ । खाद्यान्न, तरकारी, फलफूल बालीमा विषादी, मल लगायत सुक्ष्मतत्व छर्न प्रयोग हुने १६ लिटर क्षमताको स्प्रे ट्याङ्की वितरण गरेको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान रहेको स्प्रे ट्याङ्की लिन किसानको २५ प्रतिशत अर्थात् ७ सय ३० रुपैयाँ तिरेका छन् ।

पालिकाको सात वटै वडाका करिब २५० किसानलाई स्प्रे ट्याङ्की वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक महिना अवधिको समय राखेर सुचना प्रकासन गरी स्प्रे ट्याङ्की लिन चाहने किसानको आवेदन संकलन गरेको थियो ।

सोही अवधिमा आवेदन दिएका मध्ये अहिलेसम्म करिब एक सय बिसजना भन्दाबढी किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक मिलन कँडेलले जानकारी दिए ।

किसानको खेतबारीमा लगाइएको बालीनालीमा लाग्ने हानिकारक रोग किराको नियन्त्रण गर्न तथा सूक्ष्मतत्त्व राम्रोसँग छरी उत्पादन बढाउन किसानलाई स्प्रे ट्याङ्की वितरण गरिएको उनले बताए ।

आवेदन दिएर माग गरेका सबै किसानलाई स्प्रे ट्याङ्की उपलब्ध गराईने गाउँपालिकाले जनाएको छ । सुनकोशी गाउँपालिकाको वडा नम्बर २,३,४,५,७ मा तरकारी, फलफूलको पटेक क्षेत्रहरु रहेका छन् ।

वडा नम्बर ३ आलुको ब्लक क्षेत्र हो भने वडा नम्बर ७ को नागी किवी र वडा नम्बर ४ कोटगाउँमा कागतीको पकेट क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्