एसियाली राजमार्गकाे निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थापिन्छ : केपी ओली



काठमाडाैं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसियाली राजमार्गकाे निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने बताएका छन् ।

बुधबार गृह जिल्ला झापाकाे कमल गाउँपालिका-५ स्थित पाडाजुँगी चोकमा सडक विभागले आयाेजना गरेकाे एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा-लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्दै उनले साे राजमार्ग निर्माणपछि आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने बताए ।

एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्ने अध्यक्ष ओलीले बताए । उनले भने – ‘याे ए‍ेतिहासिक काम हामीले सुरु गरेका छाैं, यस ठाउँमा कुनै काम हुन्छ भने राेजगारीका अवसर स्वत: सृजना हुन्छन्, राेजगारीकाे अवसरदेखि अनेक चिजकाे फाइदा लिन म आग्रह गर्छु, याे बाटाे बन्नासाथ धेरै अवसर आउँछन्, यसकाे सदुपयाेग गर्न पनि आग्रह गर्नु ।’

साे राजमार्ग बनेपछि विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने अध्यक्ष ओलीले बताए । उनले भने – ‘याे आफैंमा एउटा इन्फास्टक्चर हाे, यिनीहरुकाे प्रयाेग गरेर हामीले विकासका कामलाई ध्यान दिनुपर्छ, आधुनिकीकरणमा ध्यान दिनुपर्छ, जसबाट हामी अगाडि जान सक्छाैं, राेजगारीका अवसर सृजना गर्ने, उत्पादन वृद्धि गर्न र उत्पादकत्व वृद्धि गर्ने यी सबै काम उद्यमशिलताकाे विकासबाट हुन सक्छन् ।’

हामीले बनाएका चाैडा बाटा, विद्युत, सञ्चार सुविधा र अन्य कनेक्टिभिटीकाे विकासका लागि प्रयाेग गर्नुपर्ने अध्यक्ष ओलीले बताए ।

नेपालमा अलि गतिला बाटा बनायाे भने किन बनाइयाे भनेर विराेध गर्ने गरिएकाे उनले बताए । अध्यक्ष ओलीले भने – ‘कतिपय मानिसले नबुझ्न सक्छन्, विदेशमा गएर अरुका विकास र बाटा हेर्‍याे अनि आहा यस्ताे हुन्छ भन्ने, आफ्ना देशमा बनायाे भने खिल्ली मजाक उडाउने, अरुका देशमा अग्ला घरकाे टुप्पाे हेरेर बाटाेमा टाेपी छाेडेर आउने अनि आफ्नाे देशमा अलि गत्तिलाे घर बनायाे भने विराेध गर्ने, याे खालकाे तरिका हामी नेपालीहरुकाे छ, अलि गत्तिला बाटा बनायाे भने यस्ता बाटा किन बनाइयाे भनेर विराेध गर्ने ।’

जिन्दगी भात मात्रै नभएकाे र भात प्राप्त गर्नका लागि धेरै कुरन गर्नुपर्ने उनले बताए । एसियाली राजमार्ग स्ट्याण्डर हाइवेकाे रुपमा विकास हुनु सबैका लागि खशीयाली कुरा भएकाे अध्यक्ष ओलीले बताए।

सरकारले विकासका कामलाई तिब्रतासाथ अगाडि बढाउने उनले बताए । आफू नेतृत्वकाे सरकारले विकास र समृद्धिका लागि धेरै काम गरेकाे अध्यक्ष ओलीले स्मरण गराए ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले विकासकाे लहर पुर्नजिवित गर्नुभएकाे भन्दै उनले प्रशंसा गरे ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १ सय २० किलोमिटर सडक चार लेनकाे बनाइनेछ । एसिया महादेशका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कूल लम्बाइ १ लाख ४१ हजार किलोमिटर रहने बताइएको छ ।एसियाली राजमार्गको स्वीकृत रुटमा नेपालकाे पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिने छ ।

प्रतिक्रिया दिनुहोस्