नेपालहेल्थप्रेसको प्रधान सम्पादकमा मिश्र



काठमाडौँ। 

 नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका वरिष्ठ पत्रकार अतुल मिश्र ‘नेपालहेल्थप्रेस डट कम’ को प्रधान सम्पादक नियुक्त भएका छन् ।

यसअघि उनी झन्डै २७ वर्ष देखि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका मा कार्यरत थिए भने पछिल्लो १६ वर्ष देखि त्यहाँ चिफ सब एडिटरको भूमिकामा थिए । जयानन्द मिडिया प्रालिको सञ्चालक समिति बैठकले मिश्रलाई प्रधान सम्पादक नियुक्त गर्ने निर्णय गरेको हो ।

पत्रकार मिश्रले आफ्नो पेसागत जीवनमा विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष विज्ञता राखेका छन् र विदेशी सञ्चार माध्यमहरूसँग पनि आबद्ध छन् । उनी सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टको अध्यक्ष समेत हुन् ।

मिश्रले राष्ट्रिय स्तरमा उत्कृष्ट स्वास्थ्य र विज्ञान पत्रकारिता पुरस्कारहरू, विभिन्न सम्मान र दुई दर्जन भन्दा बढी पुरस्कारहरू प्राप्त गरेका छन् । पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले उनलाई राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कारले समेत सम्मानित गरेको छ ।

नेपालहेल्थप्रेसले उनको नियुक्तिलाई विधा गत पत्रकारिता क्षेत्रमा एक महत्त्वपूर्ण कदमको रूपमा लिएको छ र उनको अनुभव र विशेषज्ञताले स्वास्थ्य पत्रकारितामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । उनको नेतृत्वमा, संस्थाले स्वास्थ्य विज्ञान सम्बन्धी गहन, विश्लेषणात्मक समाचार प्रस्तुत गर्ने योजना समेत बनाएको छ ।

प्रधान सम्पादक मिश्रले आफ्नो नियुक्तिको प्रतिक्रियामा भनेका छन्, ‘म नेपालहेल्थप्रेसमा यो नयाँ भूमिकाको लागि उत्साहित छु र नेपाली स्वास्थ्य पत्रकारितालाई अर्को स्तरमा लैजाने चुनौतीलाई स्वीकार गर्छु । सही, विश्वसनीय, सन्तुलित र न्याय पूर्ण पत्रकारिता मेरो पहिलो प्राथमिकता हो । मेरो लक्ष्य अन्तर्राष्ट्रिय गुणस्तरमा खरो उत्रने स्वास्थ्य पत्रकारिता नेपाली भाषामा प्रस्तुत गर्नु हो । सँगै स्वास्थ्य, विज्ञान र यो सँग सम्बन्धित विविध पक्ष सहित नीति नियम सम्बन्धी जानकारीलाई अझ व्यापक र गहन तरिकाले प्रस्तुत गर्दै जानु हो ।’

मिश्रको नियुक्तिले पत्रकारिता क्षेत्रमा उनको लामो अनुभव र विशेषज्ञताको सम्मान गर्दै नेपाली स्वास्थ्य पत्रकारितामा नयाँ ऊर्जा थप्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्