सीता एयरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते



मुगु।

मुगुस्थित रारा विमानस्थलमा उड्ने तयारीमा रहेकाे सीता एयरको विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।

बिहीबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।

उनी विमानका चालकहरूलाई विमान उडान संकेत गरिरहेका वेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिएकाे प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई साेही एयरकाे विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएकाे छ।

प्रतिक्रिया दिनुहोस्