सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस



काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले यस विषयमा फेरि थप छलफल गर्ने कुराकारी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको चाहना रहेको छ ।’

आधा घण्टा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक र नेता कृष्णप्रसाद सिटौला तथा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा सहभागी थिए ।

सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्