यार्सा सङ्कलन गर्न  गएका एक व्यक्तिको लेक लागेर मृत्यु



मुगु। 

मुगुमा कार्मारोङ गाउँपालिकाको यार्सा सङ्कलन गर्ने पाटन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्ला जिल्ला पातारासी गाउँपालिका –३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेर बिहीबार मृत्यु भएको हो।

रावत यार्सागुम्बा टिप्न भनी पाटन तर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि आफन्त साथीहरुले उपचारका लागि  पुलु स्वास्थ्य चौकी मुगुमा लाई सामान्य उपचार गराए पछि थप उपचारका लागि मुगु जिल्ला अस्पताल तर्फ ल्याउँदै गर्दा मुगुमा कार्मारोङमा पर्ने रिउस बगर भन्ने स्थानमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराएका छन् ।

मृतक रावतको जिल्ला अस्पतालमा बिहीबारै पोस्टमार्टम भएर लास आफन्तहरुले बुझिसकेको पनि प्रनाउ थापाले बताए ।
यार्सा टिप्‍न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नहुँदा वर्षेनी यार्सा पाटनहरुमा दर्जन बढी संकलक हरुले ज्यान गुमाउँदै आएका छन्।

गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिउँ पहिरोमा परि मृत्यु भएको थियो । यो वर्ष मुगुमा कार्मारोङ्ग गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरु खुल्ला गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्