स्वर्ण जित्ने टोलीलाई बास्केटबल संघको सम्मान



काठमाडौं ।

नेपाल बास्केटबल संघले चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभल अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिमलाई सम्मान गरेको छ ।

नेपाल बास्केटबल संघले बिहीबार प्राेत्साहनस्वरुप टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँ र कदरपत्र प्रदान गरी सम्मान गरेको हो । यो नेपाली बास्केटबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले भाग लिएका थिए । प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय टिममा नेपाल, माल्दिभ्स, लाओस, भियतनाम, थाइल्यान्ड, म्यानमार र क्याम्बोडिया थिए ।

नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ सम्मानित भएका हुन् । नेपालका मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । गत शुक्रबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो ।

अध्यक्ष भीमसिंह गुरुङले लामो समयपछि स्वर्ण पदक जित्दा खुसी लागेको बताउँदै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा पनि भाग लिन जानकारी गराए । खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै आगामी दिनमा अभ्यास कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिने बताए । उनले खेलाडीलाई एक्स्पोजर दिनेमा ध्यान केन्द्रित गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्