नगरको गौरवको आयोजना शिलान्यास



उदयपुर ।

 त्रियुगा नगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको शहरी सडक निर्माण योजनाको बिहीबार शिलान्यास भएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले यो योजना नगरको गौरवको आयोजना भएको र यो योजना पुरानो भए पनि विश्व बैङ्कले विविध कारणले स्वीकृत नगरेको पछि परिमार्जन सहितको योजना पेस गरेपछि योजना स्वीकृत भएको बताए ।

उप मेयर महेश्वरी राईले सडक निर्माण गर्दा वातावरणीय परीक्षण, आदीवासी जनजाति तथा अन्य क्षेत्र र वर्गका जनतालाई फाइदा हुने गरि योजना ल्याइएको बताइन ।

दुई प्याकेजमा निर्माण हुने यो सडक त्रियुगा नपाका वडा न १० ११ १२ र १३ नम्बर वडामा निर्माण हुनेछ भने यसको लागत ६६ करोड रहेको छ। करिब १५ किलोमिटर दुरीको यो सडकको निर्माण अवधि १५ महिना रहेको  जानकारी त्रियुगा नगरपालिकाका इन्जिनियर निर्मल चौधरीले बताए ।

पहिलो प्याकेजमा त्रियुगा नपाको वडा नं१० र  ११ को ९।९२७ किमीकालागि ४५ करोड ६१ लाख ६२ हजार ८६२ रुपैयाँमा ठेक्का सम्झौता भएको,
दोश्रो प्याकेजमा त्रिनपाको वडा नं १२ र १३ को सडकका लागि २० करोड ३८ लाख ४८ हजार २ सय ७८मा ठेक्का सम्झौता भएको नपाका प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए ।

आशिष् आशीर्वाद स्वामी नारायण जेभीले निर्माण सम्झौता गरेको यो सडक निर्माणकालागि विश्व बैङ्कले नेपाल सरकार शहरी विकास मन्त्रालय मार्फत त्रियुगा नगरपालिकाको शहरी सडकका लागि करिब १ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने  सम्झौता भए अनुसार नगरपालिकाले ठेक्का खोलेको थियो ।

प्रतिक्रिया दिनुहोस्