बजेट निर्माणको पूर्व सन्ध्यामा धुलिखेलमा मध्यकालीन खर्च संरचना सम्बन्धी अभिमुखीकरण



काभ्रे।

आगामी वर्षको बजेट निर्माण पूर्व धुलिखेल नगरपालिकाले मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक वर्ष २०८१-२०८२– २०८३-२०८४ सम्मको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न शाखाका कर्मचारीहरु, वडा सचिवहरू तथा सरोकारवाला ब्यक्तिहरु सहभागी थिए ।

धुलिखेल नगरपालिकामा चालु वर्षका लागि विनियोजन गरेको समानिकरण अनुदानमा कटौती भएको, भ्याट र मालपोत राजश्वमा गिरावट आएको, आन्तरिक आयमा कमि भएको छ । जसका कारण विनियोजित बजेटमा १५ करोड कटौती भएको छ । नेपालको संविधानको धारा ५९, आर्थिक अधिकारको धारा ६०, रावश्व श्रोतको बाँडफाँट सम्बन्धी, स्थानीय सरकार संचालन ऐन, २०७४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र अन्तर सम्बन्ध वित्तीय व्यवस्थापन ऐन २०७४ सम्बन्धी ब्यवस्थाका आधारमा बजेटको व्यवस्थापन तथा योजना तर्जुमा गरिनु पर्छ । प्राथमिकिकरण र श्रोत सुनिश्चितताका लागि आवधिक योजना, मध्यकालीन खर्च संरचना र बार्षिक बजेट तयारी गरिन्छ । जसले त्यसको पृष्ठभुमि, समस्या-चुनौती, सोच, उद्देश्य, रणनीति, नतिजा, खर्च श्रोत अनुमान, आयोजना, कार्यक्रम संक्षिप्त विवरण र जोखिमका बारेमा जानकारी र सचेत गराउँछ ।

 

नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले राजनीतिक र प्रशासनिक पक्षक बीचको खाडल फराकिलो रहेकाले जनप्रतिनिधिहरुले निर्वाचनका समयमा अर्थात हरेक नागरिकहरुका घर घरमा रहेका समस्या समाधान गर्न चाहे पनि सीमित श्रोत र साधनको सिमितताका बाबजुत सम्भव नभएको बताए । ‘हामीलाई घर घरका सबै समस्या एकै पटक समाधान गरौँ जस्तो लाग्छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘तहगत रुपमा, कानूनी रुपमा गरिनु पर्ने कार्यहरुलाई भावनात्मक रुपमा गर्ने प्रयत्नले कहिलेकाहीँ जनप्रतिनिधिहरू बीच नागरिकहरुको अविश्वास र दुरी बढ्ने खतरा हुन सक्छ ।’ नगरका सबै योजनाहरु प्राथमिकताका आधारमा निर्माण गरी कार्यान्वयन गर्दै जानु पर्नेमा बस्तुगत अवस्था र आवश्यकता भन्दा बाहिर गई तत्काल देखिएका  विषयहरुका आधारमा  छनौट गर्दा त्यसबाट निम्तिन सक्ने खतरालाई ध्यान दिनु पर्ने नगर प्रमुख ब्याञ्जुले बताए । धुलिखेल नगरपालिकाले विशिष्टकृत रुपमा योजनाहरुको छनौट गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख ब्याञ्जुले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मध्यकालीन खर्च संरचनाको आवश्यकताका बारेमा जानकारी गराउँदै धुलिखेलको चालु वर्षको बस्तु स्थितिका बारेमा जानकारी गराएका थिए । ‘योजनाहरु महत्वकांक्षी होइन, यथार्थताका आधारमा र प्राथमिकताका आधारमा निर्माण गरिनु पर्छ’–प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले भने– ‘वितरणमुखी योजना, श्रोत विनाका योजनाका कारण स्थानीय तहमा देखिएका समस्या समाधानका लागि मध्यकालीन खर्च संरचना महत्त्वपूर्ण हुन्छ ।’ आम्दानी अनुसारको खर्च ब्यवस्थीत गर्न कठिन भएको बताउँदै उनले तीन तहका सरकारले गरिरहेका योजनाहरुको दिगो व्यवस्थापन तथा श्रोत सुनिश्चितताका लागि मध्यकालीन खर्च संरचना झनै महत्त्वपूर्ण हुने बताए । उत्पादन, रोजगारी, आय, लगानी सहितको आर्थिक पक्षको उपलब्धिका लागि प्राप्त हुने बजेटका श्रोतहरु समानिकरण, शसर्त, समपूरक र विशेष अनुदान, राजश्व बाँडफाँट, रजिस्ट्रेसन, सवारी कर, ऋण, घाटा बजेट, आन्तरिक आय मार्फत हुने भए पनि सार्वजनिक वित्तीय व्यवस्थापनको साधन, बजेट र आवधिक योजना बिचको अन्तर सम्बन्ध, योजनाको प्राथमिकिकरण र श्रोतको सुनिश्चितता, विनियोजन कुशलता र खर्चको प्रभावकारीताका बारेमा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा विज्ञहरु हरिवोल काफ्ले र दामोदर गिरी, उपप्रमुख नीराजन जंगम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, वडा सचिवहरू, नगरपालिकाका अन्र्तगतका परिषद्का पदाधिकारीहरु, बाल क्लब लगायतका संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्