नेपाल–बंगलादेश कला महोत्सव शुरु



काठमाडौं

काठमाडौस्थित बंगलादेश दूतावासको आयोजनामा सोमबारदेखि ‘फ्रम माउन्टेन्स टु द डेल्टा’ शीर्षकमा कला शिबिर शुरु भएको छ । दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालरीको सहकार्यमा आयोजना गरेको साताव्यापी कला महोत्सवको एक हिस्साको रुपमा कला शिविरको आयोजना गरिएको हो ।

नेपाल र बंगलादेशका चर्चित कलाकारहरुको सहभागितामा दूताबास परिसरमा कला शिविरको उद्घाटन गरिएको थियो । कला शिविरमा बंगलादेशका कलाकारहरु प्रोफेसर इमेरिटस रफिकुन नबी, मोनिरुल इस्लाम, प्रोफेसर मोहम्मद युनुस, मुनिरुज्जमान मुनिर, कनक चान्पा चक्मा र प्रा डा इकबाल अलीको सहभागिता रहेको छ। त्यसैगरी नेपालबाट कलाकार किरण मानन्धर, शशी शाह, विजय थापा र कृष्ण मानन्धरको सहभागिता रहेको छ ।

कला शिविरको उद्घाटन गर्दै नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बंगलादेशबीच सामाजिक, सांस्कृतिक र सभ्यताको अनुपम सम्बन्ध रहेको बताए । उनले भने–हिमालदेखि समुन्द्रमा बग्ने खोला जस्तै दुई देशबीच प्राकृतिक सम्बन्ध रहेको छ । हाम्रा सामाजिक–सांस्कृतिक पहिचानको संरक्षण र हाम्रा मूल्य–मान्यता र परम्परालाई सम्मान गर्ने दुवै देशको साझा दृष्टिकोणअनुरुप कला महोत्सवको विषयवस्तु रहेका छन् ।

उनले कला शिविर समकालीन बंगलादेशी र नेपाली कलाकारहरूको कलाकृतिहरू सिर्जना गर्न र दुई देशको संस्कृतिको समृद्धि झल्काउने उनीहरूको अद्वितीय शैली, दृष्टिकोण र माध्यमहरू प्रदर्शन गर्न उत्कृष्ट मञ्च हुने विश्वास पनि व्यक्त गरे । उनले दुई देशका यस्ता प्रतिष्ठित कलाकारहरुको जमघटले मित्रताको बन्धनलाई थप मजबुत बनाउने विचार पनि व्यक्त गरे ।

कार्यक्रममा प्रख्यात कलाकार मोहम्मद रफिकुन नाबी, किरण मानन्धर, प्रा. मोहम्मद युनुस र कला शिविरको संयोजक सुष्मा राजभण्डारीले मन्तव्य राखेका थिए।

नेपाली र बंगाली नयाँ वर्षको स्वागतमा दूतावासले आयोजना गरेको सांगीतिक कार्यक्रमसँगै कला शिविर सम्पन्न भएको थियो । कार्यक्रममा बंगलादेश र नेपालका गायक तथा संगीतकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । नयाँ वर्षको उत्सव र कला शिविरमा काठमाडौंस्थित बंगलादेशी समुदायका वरिष्ठ कलाकार, कलाप्रेमी, कला समीक्षक र सदस्यहरूको सहभागिता थियो।

१० जना प्रख्यात कलाकारका कलाकृति आगामी मंगलबारदेखि शुक्रबारसम्म सिद्धार्थ आर्ट ग्यालरी, बाबर महल रिभिजिटेड, काठमाडौंमा प्रदर्शनीमा राखिने छ।

प्रतिक्रिया दिनुहोस्