चोरीको मोटरसाइकलसहित एक जना  प्रहरीको नियन्त्रणमा 



काठमाडौँ। 

काठमाडौँको शंखरापुर नगरपालिका ९ बाट आइतबार चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका २ घर भई हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बा ८३ प ९० ३७ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई आइतबार  मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

बागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल काठमाडौंको काडाँघारी लाहुरे चोकबाट  हराएको भनी मोटरसाइकल धनी रामेछापको खाँडा देवी गाउँपालिका ६ का निर्मल केसिले गत मंसिर १९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित थिङ नियन्त्रणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्