बुटवलको मुख्य बजारको सडकको ठेक्का ७ वर्ष पछि रद्द, निर्माण व्यवसायी कालोसूचीमा



बुटवल।

पटक–पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण पुरा गर्न निर्माण व्यवसायी असफल भएपछि ठेक्का नै रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे ३ किलोमिटर सडक सात वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो।

समयमै निर्माण कार्य पूरा गर्न संघ,प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधि र क्षेत्रको आग्रह र निर्देशनलाई निर्माण व्यवसायीले बेवास्ता गरेको भन्दै आइतबार ठेक्का रद्द गरिएको हो । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले पटक–पटकको आग्रह निर्देशनलाई बेवास्ता गरी काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तोडिएको बताए । लम्सालले अब छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का प्रक्रियामा जाने बताउनु भयो । अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।

तीन वर्षमा सक्ने गरी २०७३÷०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदखाएपछि ठेक्का तोडिएको बताए ।

‘निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि काम भएन’, सूचना अधिकारी  लम्सालले भने, ‘ठेक्का सम्झौताका सर्त बमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो ।’ मेन लाइन, सर्भिस लेन, नाली लगायतका काम भएका छैनन् । सडकको कारण बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।बुटवल उपमहानगरपालिकाले पनि ठेकेदारलाई राखेर निर्माण गति दिन आग्रह गर्दै आएको थियो । चौराहा गोलपार्क सँगै बेलहिया बुटवल खण्डका केही साइडहरुको पनि ठेक्का तोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्