टेबल टेनिसको ओलम्पिक छनोट नेपालमा



काठमाडौं ।

फ्रान्समा आगामी जुलाईमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

नेपालले पहिलो पटक आयोजना गर्न लागेको टेबल टेनिसको ओलम्पिक छनोट मे १३ देखि २५ सम्म हुने अखिल नेपाल टेबल टेनिस संघले आइतबार एक पत्रकार सम्मलेनमार्फत जानकारी गराएको हो । छनोट प्रतियोगिता १३ देखि १५ तारिखसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । नकआउट पद्धतिमा हुने प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले खेल्नेछन् ।

दक्षिण एसियाका भारत र भुटानले भने सहभागिता नजनाउने आयोजक अखिल नेपाल टेबल टेनिस संघले जानकारी गराएको छ । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक छनोट भइसकेको छ । टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली भारतको अनुपस्थितिले नेपाललाई फाइदा पुग्ने बताउँछन् । हरेक राष्ट्रबाट दुई-दुई खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त छनोट प्रतियोगिताबाट महिला र पुरूषतर्फ एक-एक विजेता सिधै ओलम्पिकमा छनोट हुनेछन् । नेपालबाट पुरूषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापाले खेल्नेछन् ।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगिता सञ्चालनका लागि भारतबाट प्राविधिक आउने जानकारी दिनुभयो । प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ । जसमा नेपाली घरले ५ लाख रूपैयाँ बराबर प्रायोजन गर्नुका साथै समाजसेवी सुमन खड्गीले पनि आर्थिक सहयोग गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्