हरिप्रसादको रिमालको शतवार्षिकीमा नाटक महोत्सव, प्रथम हुनेलाई १ लाख पुरस्कार

1.03k
Shares

काठमाडौं ।

ख्यातिप्राप्त अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव २०८१ आयोजना गर्ने भएको छ।

स्व.हरिप्रसाद रिमालको शतवार्षिकी पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन विभिन्न परिधि निर्माण गर्दै देशभरका नाट्कर्मीलाई महोत्सवमा सहभागी हुन आह्वान गरिएको छ।

नाटक महोत्सव आयोजक समितिका संयोजक, अभिनेता एवम् निर्देशक सम्राट सापकोटाले नाटक बढीमा एक घण्टाको हुनुपर्ने र नेपाली भाषाको हुनुपर्ने जानकारी गराएका छन्। सापकोटाले मौलिक सिर्जनालाई प्राथमिकता दिइने, बढीमा १० जना कलाकार हुनुपर्ने र नाटकको पाण्डुलिपि आगामी असार मसान्तसम्म प्रतिष्ठानमा पठाउनुपर्ने जानकारी गराए।

आगामी भदौ ३० देखि असोज २ गतेसम्म राष्ट्रिय नाचघर जमलमा आयोजना हुने महोत्सवमा प्रथम पुरस्कार एक लाख, द्वितीय ५० हजार र तृतीय पुरस्कार २५ हजार रहनेछ।

काठमाडौं उपत्यकाबाहेकका प्रदेश र शहरबाट सहभागी हुने टोलीलाई आउने जाने यातायात खर्चका साथै कार्यक्रम अवधिभर खाने बस्ने प्रबन्ध आयोजक समितिले गर्ने सापकोटाले जानकारी गराए।