जनमत साहित्यिक यात्रीलाई सिक्किममा सम्मान नेपाल–सिक्किमको साहित्यिक, सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन जोड स्रष्टाहरूको जोड


सिक्किम,भारत

पुस्तक आदानप्रदान, सिर्जनात्मक सहकार्य र भाषिक एकतामार्फत दुई क्षेत्रका नेपालीभाषी समुदायबीचको सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल र सिक्किमबीचको ऐतिहासिक, भाषिक, सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै क्षेत्रका साहित्यकार तथा स्रष्टाहरूले जोड दिएका छन्। जनमत वाड.मय प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालले भौगोलिक सीमा र राष्ट्रियता फरक भए पनि भाषा, संस्कृति, संस्कार र भावनात्मक सम्बन्ध एउटै भएकाले साहित्यलाई आपसी सम्बन्ध विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो ।

दार्जिलिङ र सिक्किमको साहित्यिक भ्रमणमा पुगेको नेपाली साहित्यिक टोलीसँग सिक्किममा आयोजित भेटघाट तथा अन्तरक्रियामा वरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेल र सिक्किम निवासी संचारकर्मी अम्मरलाल श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन्।

वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यिक यात्राले भौगोलिक दूरी मात्र घटाउने नभई फरक ठाउँमा रहेका नेपालीभाषी स्रष्टाबीच आत्मीयता, सिर्जनात्मक सम्बन्ध र सहकार्यको वातावरण निर्माण गर्ने बताए। नेपाल र सिक्किमका साहित्यिक संस्थाबीच विगतदेखि नै सम्बन्ध र सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले त्यसलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्ने धारणा राखे।

उनले साहित्यिक कृति, विचार र अनुभवको आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने बताउँदै एक ठाउँमा सिर्जना भएका पुस्तक अर्को ठाउँका पाठकसम्म पुग्न सके दुवै क्षेत्रको साहित्यिक विकासमा योगदान पुग्ने उल्लेख गरे। साहित्यिक भ्रमण र भेटघाटले एकअर्काको भाषा, संस्कृति र सिर्जनालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो।

नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेलले नेपाल र सिक्किमका नेपालीभाषी समुदायबीच राष्ट्रियताको सीमा भए पनि भाषा, संस्कृति, संस्कार, खानपान र भावनामा कुनै भिन्नता नरहेको बताए। उनले नेपाल र सिक्किमका नेपालीभाषीबीचको सम्बन्धलाई राजनीतिक सीमाभन्दा माथि उठेर हेर्नुपर्ने धारणा राखे।

“तपाईंहरूले बोलेको हामी बुझ्छौँ, हामीले बोलेको तपाईंहरू बुझ्नुहुन्छ। हामी नेपाली नै बोलिरहेका छौँ। हाम्रो संस्कार, संस्कृति, खानपान र मनका भावना पनि उस्तै छन्। राष्ट्रियताले मात्र हामीलाई फरक बनाएको हो, अरू कुनै भिन्नता छैन,” उनले भने।

मेची नदीले भौगोलिक सीमा छुट्याए पनि त्यसले नेपाली समुदायबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अलग गर्न नसक्ने उनको भनाइ थियो। सीमापार आवतजावत गर्दा परिचयपत्र देखाउनुपर्ने अवस्था भए पनि भाषा, संस्कृति र आत्मीयताका हिसाबले दुवै क्षेत्रका नेपाली एकअर्कासँग जोडिएको उनले बताए।

भारतको संविधानको आठौँ अनुसूचीमा सन् १९९२ अगस्ट २० मा नेपाली भाषाले स्थान पाएको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै ढुंगेलले भारतमा नेपाली भाषाको संवैधानिक पहिचान स्थापित हुनु नेपालीभाषी समुदायका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

उनले सिक्किममा नेपाली साहित्य परिषद्ले हरेक वर्ष महत्त्वपूर्ण साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। महाकवि चिराङको जन्मजयन्ती, वैशाखी र भानुजयन्तीलगायत कार्यक्रमलाई परिषद्ले वार्षिक कार्यतालिकामै समावेश गरेर मनाउँदै आएको उनले बताए। यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने उनको धारणा थियो।

नेपाल र सिक्किमका साहित्यकारका पुस्तक एकअर्काको क्षेत्रमा सहज रूपमा उपलब्ध हुन नसकेको विषयलाई पनि उनले महत्त्वका साथ उठाए। नेपालमा प्रकाशित पुस्तक सिक्किम र सिक्किममा प्रकाशित पुस्तक नेपालसम्म पुर्‍याउने व्यवस्था गर्न सके साहित्यिक सम्बन्ध अझ विस्तार हुने उनले बताए। साहित्यिक संस्थाबीच नियमित भेटघाट, पुस्तक आदानप्रदान र संयुक्त कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

सिक्किम निवासी अम्मरलाल श्रेष्ठले राजनीतिक दल र सरकार परिवर्तन भए पनि प्रेस तथा पत्रकारिताको सम्मान र स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने बताए। जुनसुकै राजनीतिक दलको सरकार भए पनि पत्रकारिता र समाजमा योगदान पुर्‍याउने व्यक्तिको सम्मान हुनुपर्ने उनको धारणा थियो।

उनले पत्रकारिता, सामाजिक क्षेत्र र सार्वजनिक जीवनमा सक्रिय व्यक्तिको योगदानलाई राजनीतिक आस्थाका आधारमा नभई काम र जिम्मेवारीका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए। समाजमा सकारात्मक सोच र आपसी सम्मानको वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले नेपाल र सिक्किमबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भेटघाट र संवादले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल र सिक्किमका साहित्यिक तथा सामाजिक व्यक्तित्वबीच विगतदेखि नै व्यक्तिगत र संस्थागत सम्बन्ध रहँदै आएको उल्लेख गर्दै वक्ताहरूले त्यसलाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। साहित्यिक सिर्जना, प्रकाशन, अध्ययन, अनुसन्धान र सांस्कृतिक कार्यक्रममार्फत दुवै क्षेत्रका स्रष्टालाई जोड्न सके नेपाली भाषा र साहित्यको साझा क्षेत्र थप फराकिलो हुने उनीहरूको विश्वास थियो।

साहित्यिक भ्रमणका क्रममा नेपाली साहित्य परिषद् सिक्किमले नेपाली साहित्यिक टोलीलाई स्वागत गर्दै आफ्ना प्रकाशन तथा मुखपत्रसमेत प्रदान गरेको थियो। भेटघाटले नेपाल र सिक्किमका स्रष्टाबीच आपसी परिचय, अनुभव आदानप्रदान र आगामी सहकार्यका लागि नयाँ आधार तयार गरेको सहभागीहरूले बताएका छन्।
सोही अवसरमा मानवअधिकारकर्मी राजु सरकारले धन्यवाद ज्ञापन गर्नुभयो । सोही अवसरमा साहित्यकार तथा परिषद्का पूर्व अध्यक्ष प्रधुम्न श्रेष्ठले मोहन दुवाललाई सम्मान गर्नुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।