सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक समर लभले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार पारिएको नाटक गत शुक्रवारदेखि कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ।
मञ्चनको सुरुवातमै नाटकले दर्शकको उल्लेख्य साथ पाएको छ। पहिलो दुई दिनका चारै शो मञ्चन हुनुभन्दा तीन दिनअघि नै हाउसफुल भएका थिए। यस्तै, आगामी दिनका शोका लागि पनि अग्रिम बुकिङ उत्साहजनक देखिएको छ।
साहित्यिक कृतिलाई रंगमञ्चमा रूपान्तरण गरिएको समर लभ युवा पुस्तामाझ लोकप्रिय सुविन भट्टराईकै उपन्यासमा आधारित छ। प्रेम, सम्बन्ध, युवा मनोविज्ञान र जीवनका आरोह–अवरोहलाई प्रस्तुत गर्ने उपन्यासको रंगमञ्चीय रूपान्तरणलाई दर्शकले सुरुवातमै रुचाएका हुन्।
नाटकको अर्को आकर्षण चर्चित अभिनेता अर्पण थापा हुन्। नेपाली फिल्ममा स्थापित अभिनेता थापाले समर लभमार्फत पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन्। मुख्य भूमिकामा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरी, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायतका कलाकार छन्।
कान्तिपुर थिएटरले यसअघि मञ्चन गरेको सेतो धरतीले १ सय १ शो पूरा गर्दै नेपाली रंगमञ्चमा कीर्तिमान बनाएको थियो। सोही थिएटरमा अहिले समर लभले दर्शकको राम्रो साथ पाउन थालेपछि कान्तिपुर थिएटरको पछिल्लो प्रस्तुतिप्रतिको अपेक्षासमेत बढेको छ।
अर्पण थापासंगै रेखा थापा, जीवन लुईंटेल, बेनिशा हमाल, शनिशा भट्टराई र मनोज गजुरेललगायतका फिल्म क्षेत्रमा परिचित कलाकारले यही थिएटरबाट रंगमञ्चमा अभिनय यात्रा सुरु गरेका थिए। यसले फिल्मका चर्चित कलाकारलाई रंगमञ्चतर्फ आकर्षित गर्ने भूमिकालाई थप बलियो बनाएको दाबी कान्तिपुर थिएटरको छ।
थिएटर प्रोडक्सनका रूपमा तयार भएको समर लभ बुधवारबाहेक हरेक दिन मञ्चन हु“दैछ। नाटक करिब १ घण्टा ५० मिनेट लामो छ। यसैबीच, थिएटरले चर्चित नाटक सेतो धरतीलाई काठमाडौंबाहिर पनि मञ्चन गर्ने तयारी गरिरहेको छ। सो नाटक विराटनगर, पोखरा र चितवनमा समेत प्रस्तुत गर्ने तयारी भइरहेको थिएटरले जनाएको छ।











प्रतिक्रिया