राष्ट्रिय फुल कन्ट्याक्ट वैशाख २४ मा



काठमाडौं ।

नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा ४ र महिलामा एक गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफबाट ७५ पुरुष र ३५ महिला गरी १ सय १० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए ।

पुरुष-महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ। चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्