आठौँ प्रधानमन्त्री कप भलिबल जेठमा हुने



काठमाडौं ।

आठौं प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आगामी जेठमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करणको प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी जेठ १९ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो।

प्रतियोगितामा २०८० चैत्र ३ देखि १० गते सम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट छनौट भएका पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ गरि कुल १४ टिमको सहभागिता रहनेछ ।

जसमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, तीन विभागिय टोली (नेपाल एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब), कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब छन् भने महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, चन्द्रागिरी न्यू डायमण्ड भलिबल टिम, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब, बुटवल भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टिमको सहभागिता रहने छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताका खेलहरु लिग चरणको आधारमा खेलाइने छ । सहभागी टिमहरुले आफ्नो टिममा ३ जना विदेशी खेलाडीहरुलाई राख्न पाउने छन् । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो हुने टोलीले रु.८ लाख, ४ लाख र दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्