रवीन्द्रले ल्याए पैसाको उडान



काठमाडौं ।

लोकप्रिय गीतकार तथा साहित्यकार रवीन्द्र समीरले पैसाको उडाननामक उपन्यास प्रकाशनमा ल्याएका छन्। उनको मृत्युको आयु, कोरोनातन्त्रजस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो।

अकल्पनीय रूपमा अर्बपति भएको कुवेरनामक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित यो उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ। सँगै राजनीति गरेको समुदामाको आदर्श जीवनलाई उपन्यासका हरेक कथामा सँगसँगै बुनिएको छ।

उपन्यासमा पैसाको महत्व मात्र हैन सीमितताबारे मार्मिक ढंगले लेखिएको छ। विज्ञान, प्रविधि र कृत्रिम वौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ भन्ने आंकलन पनि गरिएको छ।

पैसाका लागि काकाकुल बनेको वैश्ययुगमा पैसाको आवश्यकता मात्र नभएर मृगतृष्णा भएको तथ्य शूक्ष्म ढंगबाट उजागर गरिएको छ। मुख्य पात्र कुवेर र सुदामाको वरिपरि लेखिएको उपन्यासमा मुख्यतयः ५६ च्याप्टर छन्। शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य तीन सय २५ रुपियाँ राखिएको छ।

समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलब्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्रलगायत १४ साहित्यिक कृति प्रकाशित छन्।

समीरले युवावर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्