वेस्ट इन्डिज नेपालसँग पराजित



काठमाडौं।

कप्तान रोहित कुमार पौडेलको शानदार शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । यो पहिलो खेलमा जितसँगै ५ खेलको टी २० सिरिजमा नेपालले १–० को अग्रता पनि लियो । शनिबार त्रिवि मैदानमा भएको खेलमा वेस्ट इन्डिजले २ सय ५ रनको लक्ष्य दिएकोमा नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहितले ५४ बलको सामना गरी १ सय १२ रनको योगदान दिए । २७ बलमा अर्धशतक पुरा गरेका उनले १० चौका र ६ चक्का पनि प्रहार गरे । नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल भुर्तेल पनि १२ बलमा १६ रन जोड्दै क्याच आउट भए । कुशल मल्ल रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२–३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए । विवेक यादव ७ रनमै पभेलियन फर्के ।

यसअघि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । चेजले ४६ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै अलिक अथान्जेले ४७ रन बनाएका थिए । केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कार्टि ३८ रनमा आउट भए । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्