विदेश जाने विद्यार्थी रोकेको अध्यक्ष केसीकाे दावी


ललितपुर।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले बर्सेनि हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानबाट रोकेको दावी गरिएको छ ।

नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।

इन्टरनेसलन एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले आइतबार आयोजना गरेको अन्तरक्रियामा सो संस्थाका अध्यक्ष लक्ष्मण केसीले आफूहरुले बर्सेनि ६० अर्ब रुपियाँ विदेशिनबाट जोगाएको दावी गरे । “उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुलाई स्वदेशमै बसेर विदेशी विश्वविद्यालयको शिक्षा आर्जनको सुविधा भएको छ” उनले भने, “विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको सुविधा नभएको भए अधिकांश विद्यार्थी आज स्वदेशमा हुँदैन थिए । त्यसैले हजारौँ विद्यार्थीलाई पलायन हुनबाट रोक्न सफल भएका छौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष एक लाख १० हजार २१७ जनाले नोअब्जेक्सन लेटर लिएका थिए । अध्यागमन विभागका अनुसार गत वर्ष एक लाख आठ हजार ५४२ युवा अध्ययनका लागि विदेशिएका थिए । गत वर्ष एक खर्ब ४२ करोड रुपियाँ उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत बाहिरिएको थियो । विदेशी विश्वविद्यालयमा गएर अध्ययन गर्नुभन्दा सोही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालमा सञ्चालित त्यस्ता कलेजमा झण्डै एक चौथाइ लगानीमा अध्ययन गर्न पाइने आइप्यानको दावी छ ।

‘नेपालमा नै पढौँ, नेपालमा नै बसौँ’ भन्ने नारा अगाडि सारेको यस्ता कलेज सञ्चालकले राज्यले प्रष्ट नीति तर्जुमा गरिदिए आफूहरुले बर्सेनि १० हजार विदेशी विद्यार्थीलाई ल्याउनसक्ने दावी गरेका छन् । आइप्यानका पूर्वअध्यक्ष पङ्कज जलानले नेपालमै पढ्न सम्भव भएको बताउँदै भने, “तर चासो सम्बन्धित निकायले पनि लिइदिनुपर्छ ।”

त्यस्ता कलेजहरुले नेपालमा सूचना प्रविधि, व्यवस्थापन, होटेल व्यवस्थापन लगायतका विषयमा अध्यापन गर्दै आएका छन् । यस्ता कलेजमा अध्ययनरत विद्यार्थीसँग कुल अध्ययन खर्चको पाँच प्रतिशत कर नेपाल सरकारले लिने गरेको छ । गत वर्ष यस्ता कलेजबाट शुल्क भुक्तानीवापत आठ करोड २४ लाख रुपियाँ र प्रतिविद्यार्थी शुल्क तथा नवीकरणवापत सात करोड १२ लाख रुपियाँ राजस्व उठेको थियो ।

नेपालमा त्रिचन्द्र कलेज पहिलो विदेशी सम्बन्धन प्राप्त कलेज हो । भारतको पटना विश्वविद्यालयबाट यसले सम्बन्धन लिएको थियो । त्रिभुवन विश्वविद्यालयको स्थापना नहुँदासम्म मुलुकमा १८ वटा कलेज सञ्चालनमा थिए र उनीहरु सबैले भारतका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरेका थिए । त्रिविको स्थापनापछि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिने व्यवस्था हटाइएको थियो । पछि सन् १९९८ बाट नेपालमा पुनः विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिन पाउने व्यवस्थाको थालनी भयो।

Skip This