भलिवल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका, प्रधानमन्त्रीले उद्घाटन गर्ने



ललितपुर ।

ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिवल प्रतियोगिता गर्ने भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिष्ठानले स्व.प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ । २०८१ बैशाख २२ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोश्रोले २ लाख र तेश्रोलाई १ लाख रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिइन् ।

उनले भनिन् ‘ राजधानीको नजिक भएर पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्रहरु अझै विकासका गतिले पछि परेको अवस्थामा छन् । प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने छ ।’ बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा निमन्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुदले स्थानीय तहको सर्वाङ्गिण विकास गर्ने भएका कारण प्रतियोगिता आयोजना गरेको बताइन् । स्थानीय सरकारले खेल र स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीले बताइन् ।

प्रतियोगिता सञ्चालन समितिका आयोजनाको सह–संयोजक कविराज मालाकारले ‘भलिबल प्रतियोगिताले प्रदेशभर नयाँ खेलाडीहरु उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्