चौथो मञ्जुश्री ट्रेल रेसमा कुलुङले रेकर्ड तोडे



काठमाडौं ।

मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणमा सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् ।

उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका हुन् ।

त्यस्तै, बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भए ।

सय किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मन कुमार रोका मगर विजेता बने । त्यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेस ७ घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ ८ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने ।

यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः ७ घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् । यस्तै पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः ८ घण्टा ४ मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । यस्तै ४ घण्टा ५७ मिनेट २९ सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डमा रेस सम्पन्न गरेर एण्ड्रियु एलकक तेस्रो भएका छन् । यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् ।

बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् । १० किलोमिटर रेस एक घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै एक घण्टा २ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा २ मिनेट ८ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बाल–बालिकाहरूको रेस भएको थियो । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट सय माइलको रेस सुरू भएको थियो ।

रेसमा दौडने क्रममा प्रतियोगीले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल ९ हजार ८ सय मिटरको उचाइ लिएका थिए । उक्त उचाइ समुद्रदेखि सगरमाथाको चुचुरोसम्मको भन्दा बढी भएको थापाले बताए ।

उनका अनुसार रेसअन्तर्गत छोटो दूरीका रेस पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको रेस झुलेबाट, ५० किलोमिटरको रेस बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।

ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिएको यस रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । सहभागी धावकमध्ये यस्तै २ सय ८९ जना पुरुष र ३५ जना महिला धावक रहेका थिए । विभिन्न चरण मध्ये सय माइलको रेसमा ४ महिला सहित १८ धावक सहभागी थिए ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष थापाले जानकारी दिए । सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने रेसभन्दा मञ्जुश्री ट्रेल रेसको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि रेसमा सहभागी भएको उनले सुनाए ।

उनले भने,’यस रेस एकदमै व्यवस्थित थियो । काठमाडौंमै सम्भव भइरहेको यस रेसले हामीजस्ता रेसलाई सौख र पेशा बनाएर दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर दिएको छ । उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए ।

आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन एटिएम फाइनलसँगै समाप्त गरिएको छ । जसमा अन्तिम विजेतालाई सम्मानित गरिएको छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

१०० माइल यस लामो रेस नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने रेस पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको अध्यक्ष थापाले बताए । चेक प्वाइन्टमा धावकहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिएको थियो । जसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

अध्यक्ष थापाका अनुसार, १ सय माइलको रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्