चार्जिङ स्टेशनमा लगानी बढाउनुहोस् : कार्यकारी निर्देशक घिसिङ

846
Shares

काठमाडौं।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनमा लगानी बढाउन लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।कुजु नेपाल प्रालिको नयाँ विद्युतीय स्कुटर याडिया जि–६ को बिहीबार काठमाडौंमा सार्वजनिक गर्दै कार्यकारी निर्देशन घिसिङले यस्तो आह्वान गरेका हुन् ।

उनले विद्युत प्राधिकरणले शुरुमा विभिन्न स्थानमा गरी ५१ स्थानमा चार्जिङ स्टेशन स्थापना गरेको जानकारी दिंदै भने– ‘अहिलेसम्म आइपुग्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिसकेको छ । यी स्टेशनहरुमा चार्जिङ गर्दा प्रति युनिट मूल्य ९ रुपियाँ पर्ने भए पनि राति चार्जिङ गर्दा ५ रुपियाँ ७५ पैसामै दिने गरेका छौं । हामी चाहन्छौं, तपाई लगानीकर्ताहरुलाई चार्जिङ स्टेशनहरुमा लगानी बढाउनुहोस् ।’

उनले धुलिखेलदेखि सिन्धुली बर्दिवाससम्म धेरै संख्यामा चार्जिङ स्टेशनहरु बनेको जानकारी दिंदै लगानीकर्ताहरूले एकै ठाउँमा चार्जिङ स्टेशनहरू बढी भएकाले यससम्बन्धी नीति बनाइदिन आग्रह गरेको पनि बताए । घिसिङले ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्नेमा पनि जोड दिए ।

भर्खरै सार्वजनिक गरिएको याडिया जि–६ मा ३ किलोवाटको मोटर र २ दशमलब ७३ किलोवाट आवरको ग्राफिन ब्याट्रि भएको बताइएको छ । कम्पनीका अनुासर यसलाई पूरा चार्ज गर्न ६ देखि ७ घण्टा लाग्छ भने एक पटक पूरा चार्ज हुँदा १५० किलोमिटरको माइलेज दिन्छ । फन्ट तथा रियर दुबै डिस्क ब्रेकमा उपलब्ध यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम रहेको छ । २ लाख ६० हजार मूल्य तोकिएको यो स्कुटरमा कम्पनीले ब्याट्र र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दासम्मको वारेन्टी दिएको छ ।