तिहारमा २४सै घण्टा देउसी–भैलो खेल्न पाइने


काठमाडौं।

गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी मर्यादित रूपमा देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।

मन्त्रालयले देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने स्पष्ट पारेको छ। साथै अश्लील गीत, नृत्य तथा समुदायबीच घृणा फैलाउने गतिविधि नगर्न निर्देशन दिएको छ।

त्यसैगरी जुवातास खेल्ने, मदिरा सेवन गरी होहल्ला गर्ने, लागूऔषध सेवन गरी सवारी चलाउने तथा अत्यधिक आवाजमा साउण्ड सिस्टम बजाउने कार्य नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरण स्वच्छ राख्न मन्त्रालयले सचेत गराएको छ।

कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा प्रहरीको १०० वा आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।