काठमाडौं ।
सरकारले गत कात्तिक १७ गते निर्णय गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा पठाइएका अध्यादेश राष्ट्रपति कार्यालयमा प्राप्त भई अध्ययनको क्रममा रहेका छन्।
सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो।
राष्ट्रपति कार्यालयका अनुसार अध्यादेश प्राप्त भइसकेको छ र हाल अध्ययन भइरहेको छ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले पनि अध्यादेश प्राप्त भएको पुष्टि गरेका छन्।
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा पत्रकारिताजन्य गतिविधि गरिरहेका सामाजिक सञ्जालका पेजहरूलाई समेत पत्रकार आचारसंहिताको दायरामा ल्याउनेलगायतका प्रावधान समेटिएको बताइएको छ।
संविधानको धारा ११४ अनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्।
जारी भएको अध्यादेश संसद्का दुवै सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसद्बाट स्वीकृत नभएमा वा प्रतिस्थापन विधेयकमार्फत ऐनमा रूपान्तरण नभएमा सदनमा पेस भएको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ।
यद्यपि, सरकारले अध्यादेश ल्याउनुको औचित्य र त्यसमा समेटिएका विस्तृत विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।











प्रतिक्रिया