११ देशका ३ सय ५० कलाकारको सहभागितामा लोक सांस्कृतिक मेला सम्पन्न



काठमाडौं ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नाराका साथ राजधानीसहित विभिन्न शहरमा आयोजित १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ।

फागुन १८ गतेखि शुरू भई गत सातासम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच औपचारिकरूपमा शुभारम्भ गरिएको थियो। मेलामा ११ देशका तीन सय ५० भन्दा बढी कलाकार सहभागी थिए।

काठमाडौंमा औपचारिकरूपमा शुभारम्भ गरिएपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको थियो। काठमाडौं फकिएपश्चात ११ देशका कलाकारले वसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीमा प्रस्तुति दिएका थिए।

दाङको घोराही बजार, काठमाडौंको असन ईन्द्रचोक हुँदै वसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मन मैजुक्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी प्रदर्शन गरेका थिए।

मेला १० लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको मेलाको आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपले जानकारी गराएको छ। दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी मेला आयोेजना गरिँदै आएको एभरेस्ट नेपालले जनाएको छ।

एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका संयोजक डा. आरसी कोइराला ‘रामचन्द्र’ ले सबै सहभागी फरक पृष्ठभूमिबाट आए पनि नृत्य र संगीतप्रतिको साझा लगावले जोडेको चर्चा गरे।

‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौँ, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ। सांस्कृति आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास हाम्रो छ,’ कोइरालले भने।

मेलाको स्थानीय आयोजक दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेश, वज्र कला कुञ्ज, लालीगुराँस नेसनल एकेडेमी
रहेका थिए।

प्रतिक्रिया दिनुहोस्