स्वास्थ्य क्षेत्रमा स्वागतयोग्य अभियान



काठमाडौं ।

विनयतारा फाउन्डेसनले यही वर्षदेखि नेपालको जनकपुरमा २ सय बेडको क्यान्सर अस्पताल निर्माण प्रक्रिया थाल्ने भएको छ। नेपालका लागि यो प्रशंसनीय र स्वागत योग्य हो।

अस्पताल बनाउने नेतृत्वकर्ता फाउन्डेसनका अध्यक्ष डा. विनय शाह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र नेपाल ट्रस्टका अध्यक्ष डा. वाईपी सिंह हुनुहुन्छ। अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको लागि आवश्यक जग्गा र शुरुवाती लगानीको जोहो भइसकेको छ।

यो अभियान सफल बनाउने कार्यमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्थानीय निकाय तथा आम नागरिकको साथ र सहयोग हुनुपर्छ । जनकपुरस्थित कपिलेश्वर रोडमा सञ्चालन भइरहेको २५ बेडको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरलाई २ सय बेडको सबै प्रकारका क्यान्सरको उपचार केन्द्रका रुपमा विस्तार गर्ने योजना रहेको छ । नेपालमा क्यान्सर बिरामीको उपचारमा सहजता ल्याउन अमेरिकामा बसेर चिन्ता मात्र नगरी व्यवस्थापनमा समेत तल्लीन हुनुभएका विनय शाहको सपना साकार पार्नु भनेको नेपाली जनताको सपना साकार हुनु हो ।

सन् २०२४ देखि २ सय बेडको क्यान्सर अस्पतालको भवन निर्माण शुरु गरी नेपालका साथै भारतको विहारलाई समेत लक्षित गरेर जनकपुरमा क्यान्सर उपचार केन्द्र बनाउने तयारी हुनु नेपालका लागि गौरवको कुरा हो। यो योजना सफल बनाउन युनिभर्सिटी अफ वासिङ्टनमा क्यान्सर विषयमा प्राध्यापन गर्ने चिकित्सक डा. डेभिड एबुलाफियासमेत कस्सिएका छन्।

उनी अस्पताल निर्माणकै प्रक्रियाको थालनी गर्न यतिखेर नेपाल आइपुगेका छन्। हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल बनाउन खोजिएको छ। नेपालमा राम्रो क्यान्सर उपचार हुने सेन्टर बन्नु जरुरी छ। यो फाउन्डेसनले यसअघि काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा समेत सहयोग गरी चिकित्सक तथा नर्सलाई अमेरिकामा तालिम दिनका लागि समन्वय र केही आर्थिक सहयोग गरिसकेको छ ।

क्यान्सरको बिरामी यस अस्पतालमा आएमा नेपालका चिकित्सकहरुसँग अमेरिकाका विशेषज्ञले भर्चुअल माध्यमबाट छलफल गर्छन् । नेपाली चिकित्सकलाई उपचारका लागि सहजीकरण गर्ने काम अमेरिकाका डाक्टरहरुले गर्छन् । यसले गर्दा विश्वले उपचारका लागि पत्ता लगाएको नयाँ ज्ञान र प्रयोगमा आएको सीप यहाँका बिरामीको उपचारमा प्रयोग हुन्छ।

अहिले अमेरिकाकै टेक्सासमा बस्ने नेपाली मूलका डा. सुबोध मलिकको नेतृत्वमा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङको अभ्यास जनकपुरमा रहेको क्यान्सर सेन्टरमा पनि भइरहेको छ। ४ विघा जग्गामा बन्ने २ सय बेडको अस्पताललाई शत प्रतिशत कागजविहीन बनाउने योजना छ। यसको थालनी अहिलेदेखि नै भइसकेको छ।

फाउन्डेसन अमेरिकामा क्यान्सर कन्फ्रेन्स र सीएमई कार्यक्रम गर्ने ठूलो संस्थामध्ये एक हो। कन्फ्रेन्स, सीएमई र सहयोगी दाताबाट प्राप्त रकमलाई कोष बनाएर नेपाल तथा दक्षिण एसियाको क्यान्सर क्षेत्रमा काम गरिरहेको छ।

फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो। यसले अमेरिकामा क्यान्सरसँग सम्बन्धित सीएमई र कन्फ्रेन्स, नेपालका साथै दक्षिण एसियामा क्यान्सर उपचार र सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ। यस्ता योजना नेपालमा भित्र्याएर अघि बढ्न नेपाल सरकारले साथ दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्