प्रधानमन्त्री बालेनको भारत भ्रमण इतिहासकै छोटो

साढे २५ घण्टे दिल्ली दौडाहा


–देउवाका पाँच भ्रमणमा २६ दिन, ओलीको एक भ्रमण छ दिन
–प्रचण्डले चारपटक भारत भ्रमण गर्दा शाहको बसाइँ साढे २५ घण्टा मात्रै
–लामो भ्रमणको परम्परा तोड्दै शाहको छोटो दिल्ली यात्रा

काठमाडौँ ।

नेपाली प्रधानमन्त्रीहरूको भारत भ्रमणमा लामो बसाइँको परम्परा तोड्दै सबैभन्दा कान्छा प्रधानमन्त्री बालेन्द्र शाह साढे २५ घण्टामै स्वदेश फर्कने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह मङ्सिर ६ र ७ गते नयाँदिल्ली जाने तयारीमा हुनुहुन्छ ।
सरकारको नेतृत्व सम्हालेको आठ महिनापछि हुन लागेको उहाँको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो । निर्धारित कार्यतालिकाअनुसार उहाँ मङ्सिर ६ गते दिउँसो दिल्ली पुग्ने र मङ्सिर ७ गते दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

विगतमा नेपाली प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पाँचदेखि छ दिनसम्म बिताउने, दिल्लीबाहिरका सहर तथा विकास आयोजनाको अवलोकन गर्ने र विभिन्न राजनीतिक तथा आर्थिक विषयमा छलफल गर्ने गरेका थिए । तर, शाहको भ्रमण भने छोटो औपचारिक भेटघाट र उच्चस्तरीय संवादमा केन्द्रित देखिएको छ ।

यसअघि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा नयाँदिल्लीबाहेक विभिन्न भारतीय सहर, धार्मिक तथा सांस्कृतिक स्थल र विकास आयोजनाको समेत अवलोकन गर्ने गरेका थिए । भ्रमणको अवधि लामो हुने र विभिन्न राजनीतिक तथा आर्थिक विषयमा छलफलका लागि थप समय छुट्याइने परम्परा थियो । शाहको भ्रमणले भने दुई देशबीचको उच्चस्तरीय कूटनीतिक आवतजावतमा छोटो कार्यतालिकाको नयाँ अभ्यास देखाएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ७ देखि १२ गतेसम्म छ दिन भारत भ्रमण गर्नुभएको थियो । संविधान जारी भएपछि नेपालले भारतीय नाकाबन्दीको सामना गरिरहेको र दुई देशबीच सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा भएको उक्त भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो । भ्रमणका क्रममा ओली नयाँदिल्लीमा मात्र सीमित रहनुभएन । उहाँले उत्तराखण्डको देहरादुनस्थित तेहरी जलविद्युत् आयोजना, गुजरातको भुज र महाराष्ट्रको मुम्बईसमेत भ्रमण गर्नुभएको थियो ।

त्यस्तै, शेरबहादुर देउवाले पाँच कार्यकालमा पाँचपटक भारत भ्रमण गर्दा कुल २६ दिन बिताउनुभएको थियो । देउवाले पहिलोपटक २०५२ माघ २८ देखि फागुन ५ गतेसम्म, दोस्रोपटक २०५८ चैत ७ देखि १२ गतेसम्म र तेस्रो पटक २०६९ भदौमा भारत भ्रमण गर्नुभएको थियो । त्यसैगरी, २०७४ भदौ ७ देखि ११ गतेसम्म भएको चौथो भ्रमणका क्रममा उहाँ नयाँदिल्लीसहित तेलङ्गाना, आन्ध्र प्रदेश र बिहार पुग्नुभएको थियो । पाँचौँपटक उहाँले २०७८ चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्नुभएको थियो । उपलब्ध विवरणअनुसार उहाँका पाँच भ्रमणको कुल अवधि २६ दिन रहेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन कार्यकालमा चार पटक भारत भ्रमण गर्नुभएको छ । उहाँले पहिलोपटक २०६५ सालमा भारत भ्रमण गर्नुभएको थियो । त्यसपछि २०७३ भदौ २९ देखि असोज २ गतेसम्म द्विपक्षीय भ्रमण गर्नुभएका प्रचण्ड सोही वर्ष असोज २९ र ३० गते गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुग्नुभएको थियो । उहाँको अर्को भारत भ्रमण २०८० जेठ १८ गते भएको थियो ।
त्यस्तै, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीनपटक भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले २०४८ मङ्सिर १९ देखि २४ गतेसम्म, २०५७ साउन १६ देखि २२ गतेसम्म र २०६३ जेठ २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको शपथग्रहण समारोहमा सहभागिताका लागि भएको थियो । उहाँ २०७१ जेठ १२ र १३ गते भारत पुग्नुभएको थियो ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला भारतबाट औपचारिक भ्रमणको निमन्त्रणा नै प्राप्त नभएको विवरण छ । २०४६ सालमा बहुदलीय व्यवस्था पुन:स्थापना भएयता कृष्णप्रसाद भट्टराई, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायतका प्रधानमन्त्रीले पनि भारत भ्रमण गरेका छन् ।

नेपाली प्रधानमन्त्रीहरूको भारत भ्रमणमा पटकपटकको आवागमन र लामो बसाइँको इतिहास छ । देउवाका पाँच भ्रमणको २६ दिन र ओलीको छदिने भ्रमण त्यसका उदाहरण हुन् । ती सबैको तुलनामा शाहको साढे २५ घण्टे दिल्ली बसाइ छोटो कूटनीतिक भ्रमणको नयाँ उदाहरण बन्ने देखिएको छ ।

यद्यपि, भ्रमणको सफलता समयावधिले मात्र निर्धारण गर्दैन । छोटो बसाइँमा नेपालका प्राथमिकता, द्विपक्षीय समस्या र राष्ट्रिय हितका विषयमा कति ठोस उपलब्धि हासिल हुन्छन् भन्ने नै यसको वास्तविक मापन हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।