ट्रम्प, सी र पुटिनबीच शान्ति घोषणा


– चारबुँदे घोषणापत्रमा राष्ट्रसंघ सुधारदेखि अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारक्षेत्रसम्म
– पुटिनले भने– अन्तर्राष्ट्रिय सुरक्षा धेरै हदसम्म तीन देशमा निर्भर

काठमाडौं ।

विश्वका तीन प्रमुख शक्ति राष्ट्र अमेरिका, चीन र रुसले आणविक जोखिम न्यूनीकरण, आणविक हतियारको प्रसार रोक्न संवाद र ऊर्जा आपूर्तिको स्थायित्व कायम गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा भएको पहिलो त्रिपक्षीय शिखर बैठकपछि जारी चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी गर्दै यस्तो प्रतिबद्धता जनाइएको हो ।

एशिया प्रशान्त आर्थिक सहयोग (एपीईसी) को ३३औँ आर्थिक नेताहरूको बैठकका क्रममा भएको करिब डेढ घण्टा लामो वार्तामा तीन नेताले विश्वको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्दै रणनीतिक स्थायित्व र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकपछि चीनको सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको ‘चीन–रुस–अमेरिका राष्ट्रप्रमुखहरूको शान्तिसम्बन्धी घोषणापत्र’ मा संयुक्त राष्ट्रसंघको सुधार, पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति वृद्धि, अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारक्षेत्र र आणविक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ।

घोषणापत्रअनुसार संयुक्त राष्ट्रसंघका स्थायी सदस्य रहेका तीन देशले विश्वव्यापी चुनौतीको प्रभावकारी सम्बोधन तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न राष्ट्रसंघलाई थप सक्षम बनाउने गरी सुधारको प्रतिबद्धता जनाएका छन्।

ऊर्जा सुरक्षालाई पनि साझा प्राथमिकताका रूपमा अघि सारिएको छ। तीन देशले विश्वका सबै राष्ट्रको हितका लागि प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना सार्वजनिक गर्दै स्थिर ऊर्जा प्रवाहको महत्वमा जोड दिएका छन्। पछिल्लो समय इरान युद्धका कारण होर्मुज जलडमरूमध्यमा ऊर्जा आपूर्ति प्रभावित भइरहेका बेला तीन प्रमुख शक्तिबीच यस्तो सहमति भएको हो। बैठकअघि ट्रम्पले सीसँगको छुट्टै भेटमा पनि होर्मुज जलडमरूमध्यबाट तेल आपूर्ति निर्बाध राख्नु अमेरिका र चीन दुवैको हितमा रहेको बताउनुभएको थियो।

आणविक हतियारको विषयमा तीन नेताले आणविक युद्ध जित्न नसकिने र त्यस्तो युद्ध कहिल्यै लडिनु नहुनेमा पुन: जोड दिएका छन्। आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न तीन देशबीच संवाद अघि बढाउने घोषणापत्रमा उल्लेख छ। यद्यपि, आणविक हतियार कटौती वा भण्डारणको सीमा निर्धारण गर्ने कुनै बाध्यकारी सम्झौता भएको छैन।

यसअघि अमेरिका र रुसबीचको अन्तिम प्रमुख आणविक हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ सन् २०२६ को फेब्रुअरीमा समाप्त भएको थियो। ट्रम्पले चीनलाई समेत समेटेर नयाँ आणविक हतियार नियन्त्रण सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ। तर आफ्नो आणविक हतियार भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो रहेको भन्दै चीनले यस्तो वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ।

घोषणापत्रको अर्काे महत्त्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को अधिकारक्षेत्रसँग सम्बन्धित छ। तीन नेताले राज्यको सहमति र सरकारी अधिकारीहरूको उन्मुक्तिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै आईसीसी र यस्तै अन्य निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने बताएका छन्। यो विषय रुसी राष्ट्रपति पुटिनसँग पनि जोडिन्छ। युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा रुसमा स्थानान्तरण गरेको आरोपमा आईसीसीले सन् २०२३ मा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले रुस, चीन र अमेरिकाबीचको सहकार्यले अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वमा निर्णायक योगदान पुर्‍याउन सक्ने बताउनुभएको छ। रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार उहाँले अन्तर्राष्ट्रिय सुरक्षा धेरै हदसम्म यी तीन देशमा निर्भर रहेको उल्लेख गर्दै त्रिपक्षीय शिखर बैठकलाई कूटनीतिक इतिहासको एउटा अध्यायका रूपमा व्याख्या गर्नुभएको छ।

पुटिनले बैठकलाई सफल र उपयोगी भएको बताउँदै यसको निरन्तरताको सम्भावना पनि खुला राख्नुभएको छ। यो केवल तस्वीर खिच्ने अवसर नभई गम्भीर संयुक्त काम भएको उहाँको भनाइ थियो। यद्यपि, उहाँले यसलाई तत्काल नयाँ औपचारिक कूटनीतिक संरचनाको सुरुआत भन्न नमिल्ने र नियमित बैठक गर्ने विषयमा सहमति नभएको स्पष्ट पार्नुभएको छ।

सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सहज नहुने स्वीकार गर्दै पुटिनले ‘केही सहमति पूर्ण रूपमा कार्यान्वयन हुन नसके पनि कुनै सहमति नै नहुनुभन्दा सहमति हुनु राम्रो’ हुने बताउनुभएको छ। आवश्यकताअनुसार केही निर्णय अन्य ढाँचाका बैठकबाट पनि लिन सकिने भन्दै उहाँले अमेरिकी प्रशासनसँगको सम्बन्धका केही पक्षलाई थप प्रभावकारी बनाउने चाहना पनि व्यक्त गर्नुभएको छ।

बैठकमा पुटिनले युक्रेनसहित क्षेत्रीय द्वन्द्व समाधानमा तीन देशका साझा हित रहेको जिकिर गर्नुभएको बताइएको छ। ट्रम्पले पनि आणविक हतियार नियन्त्रणका विषयमा छलफल गर्न तीन देश विशिष्ट अवस्थामा रहेको उल्लेख गर्नुभएको र सीले आणविक युद्ध रोक्न सबै प्रयास गर्नुपर्ने र प्रमुख शक्तिबीचको सहकार्यले विश्व शान्ति कायम गर्न सक्ने धारणा राख्नुभएको बताइएको छ। तर युक्रेन युद्ध र इरानसँग सम्बन्धित विषयहरू चारबुँदे संयुक्त घोषणापत्रमा समेटिएका छैनन्। युक्रेन युद्धबारे पुटिन र ट्रम्पबीच छुट्टै द्विपक्षीय छलफलसमेत भएको थियो। बैठकमा तीन नेताले संयुक्त मौखिक वक्तव्य भने दिएनन्।

विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रका प्रमुखबीच पहिलोपटक भएको प्रत्यक्ष त्रिपक्षीय शिखर बैठकलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। तर आणविक हतियार नियन्त्रण, युक्रेन युद्ध र इरान युद्धजस्ता जटिल विषयमा ठोस सहमति नहुनु तथा घोषणापत्रका प्रतिबद्धता कार्यान्वयनको स्पष्ट संयन्त्र नदेखिनुले यस बैठकको वास्तविक उपलब्धि अर्थात् घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनमा कसरी अघि बढ्छन् भन्ने विषय भने आगामी कूटनीतिक संवाद र व्यवहारले निर्धारण गर्नेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।