नेतृत्वलाई आत्मसमीक्षा गर्न कार्यकर्ताको दबाब

निर्वाचन र आन्दोलनको तयारीमा जोड


ओलीको निर्देशनपछि जनतामाझ जाने संकल्प, पार्टीभित्रको गुटबन्दी, नेतृत्वको कार्यशैली र संगठनात्मक कमजोरी सुधार्नुपर्ने आवाज

काठमाडौँ ।

नेकपा एमालेले निर्वाचनमा व्यहोरेको राजनीतिक धक्का र बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीलाई पुन: निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने संकल्पसहित राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र बनाउने तथा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आवश्यक परे आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित आयोजित भेलामा देशभर तथा प्रवासबाट तीन हजार ४१४ प्रतिनिधि सहभागी थिए । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्ण्ॉ पौडेल र महासचिव शंकर पोखरेलले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

भेला सरकारको आलोचनामा मात्र सीमित रहेन । निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, संगठनभित्रको गुटबन्दी, नेतृत्व र कार्यकर्ताबीचको दूरी तथा पार्टीको कार्यशैली सुधार्नुपर्ने विषयमा पनि बहस भएको थियो । भेलामा सहभागी कार्यकर्ताले पार्टीलाई पुनर्जीवित बनाउन नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने, तल्लो तहका कार्यकर्ताको आवाज सुन्नुपर्ने र जनतासँगको सम्बन्ध सुधार्नुपर्ने धारणा राखेका थिए ।

निर्वाचनमा उम्मेदवार छनोट गर्दा गुटगत प्रभावभन्दा लोकप्रियता, योग्यता र जनतामाझको प्रभावलाई प्राथमिकता दिनुपर्ने अपेक्षासमेत व्यक्त भएको थियो ।
कार्यकर्ताको मुख्य चासो पार्टीलाई चुनावी प्रतिस्पर्धामा फर्काउने मात्र नभई विगतका कमजोरी दोहोरिन नदिने वातावरण निर्माण गर्नु रहेको देखिएको थियो । नेतृत्वको कार्यशैली, जिम्मेवारी बाँडफाँट र संगठन सञ्चालनमा सुधार नगरी निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उनीहरूको चिन्ता थियो ।

तर भेलाको कार्यतालिकाप्रति केही नेता तथा कार्यकर्ताले असन्तुष्टि पनि जनाएका थिए । स्थानीय तहबाट आएका प्रतिनिधिले आफ्ना धारणा राख्ने पर्याप्त अवसर नपाउने र शीर्ष नेताहरूको सम्बोधन सुनेर फर्कनुपर्ने अवस्था बन्न सक्ने भन्दै उनीहरूले खुला छलफलको माग गरेका थिए । पार्टीको राजनीतिक संकट र निर्वाचनमा भएको पराजयको समीक्षा गर्न कार्यकर्ताको आवाज सुन्नुपर्ने उनीहरूको जोड थियो ।

अध्यक्ष ओलीले पार्टीले व्यहोरेको राजनीतिक धक्का निर्वाचनको परिणामबाट मात्र नभई आफूहरू सरकारबाट हटाइएदेखि सुरु भएको बताउनुभएको थियो । उहाँले २०८२ भदौ २३ र २४ गतेका घटना तथा त्यसपछिको राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने उल्लेख गर्दै लोकतन्त्रको पुनर्बहालीका लागि जनपुनर्जागरण अभियानको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

उहाँले नेता तथा कार्यकर्तालाई नयाँ उत्साह, प्रतिबद्धता र संकल्पका साथ जनताको बीचमा जान निर्देशन दिनुभयो । वरिष्ठ नेता भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्नुपर्ने बताउनुभयो । महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षण दिनुभएको थियो ।

सरकारको आलोचनादेखि पार्टी शुद्धीकरणसम्म
भेलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिनाको कार्यकाललाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन र स्वेच्छाचारी शासनको संज्ञा दिएको छ । पत्रकार, व्यवसायी, राजनीतिक दलका नेता तथा नागरिक अभियन्तामाथि अनुचित व्यवहार भएको आरोप लगाउँदै प्रेस स्वतन्त्रता र ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियनको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

त्यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न आग्रह गरिएको छ । बढ्दो महँगी नियन्त्रण, सुकुम्बासीको उचित व्यवस्थापन, लगानीमैत्री वातावरण निर्माण र घरायसी विद्युत्मा लगाइएको कर फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा सीमा विवाद, ईपीजी प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र रोकिएका परियोजनालाई प्राथमिकता दिनुपर्ने एमालेको निष्कर्ष छ ।

भेलाले पार्टीभित्र देखिएका आर्थिक तथा आचरणगत विचलन, भ्रष्टाचार, विलासी जीवनशैली र जनताबाट टाढिने प्रवृत्तिविरुद्ध कठोर बन्ने संकल्प पनि गरेको छ । युवा पुस्तासँग संवाद बढाउने, जनताका गुनासा र आलोचना सुन्ने तथा उम्मेदवार छनोटमा स्वस्थ प्रतिस्पर्धा अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

२१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भेलाले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग सहकार्य गर्ने आह्वान गरेको छ । आवश्यक परे लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनमा उत्रिने निर्णयसमेत गरेको छ ।

भेलाको निष्कर्षले एमाले नेतृत्वले पार्टीलाई पुन: संगठित गर्ने प्रयास गरेको देखाए पनि कार्यकर्ताको असन्तुष्टि र जनतामा खस्किएको विश्वास पुन: स्थापित गर्नु मुख्य चुनौती बनेको छ ।

नेतृत्वले आत्मसमीक्षा गर्ने, कार्यकर्ताको आवाज सुन्ने र पार्टीभित्रको विकृति हटाउने प्रतिबद्धता व्यवहारमा उतार्न सके मात्र आगामी निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सक्नेछ । आन्दोलनको घोषणा र राजनीतिक आरोप–प्रत्यारोपभन्दा जनताको विश्वास जित्ने काम नै एमालेको पुनरागमनको वास्तविक परीक्षा हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।