मदनकृष्ण दाइ दुधको साक्षी, म बिरालो : हरिवंश आचार्य



काठमाडौं ।

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले आफू बिरालो र आफ्ना जोडी अर्का ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ दुधको साक्षी भएको बताएका छन्।

‘मदनलाई बिरालो भनौं भने चित्त दुखाउनुहुन्छ होला। मदन दाइ दुध हो, म बिरालो हो। अनि दुधको साक्षी बिरालो’ बुकवर्म फाउन्डेसनद्वारा पोखराको फेवाताल किनारमा जारी ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा सधैंजसो ठट्यौली शैलीमै प्रस्तुत भएका हरिवंशले भने। कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एकअर्काको सम्मानमा शब्द खर्चिए।

‘मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने हो’ मह जोडीको धारणा छ। मदनकृष्णले हरिवंशलाई बदलाको भावना नलिने गरेको बताए।

‘हरिवंश ५/७ वर्ष उमेर कान्छो छ। म उसलाई एकदमै सम्मान गर्छु। म गुरुजस्तो व्यवहार गर्छु हरिवंशलाई। कहिले गुरुजस्तो, कहिले छोराजस्तो, कहिले भाइजस्तो मायालु व्यवहार गर्छौं हामी,’ आफूसँगै मुस्कुराइरहेका हरिवंशलाई हेर्दै मदनकृष्णले भने, ‘एकआपसमा बदलाको भावना कहिले नलिने। हरिवंशले कहिले बदलाको भावना लिएको छैन। मरो पनि जेसुकै गरोस् हरिवंशलाई बदलाको भावना लिदिनँ भन्ने अठोट छ।’

वसन्त बस्नेतले सहजीकरण गरेको सत्रमा कामका क्रममा इगो आउँदैन भन्ने प्रश्नमा मदनकृष्णले काममा इगो आए एक मनलाई अर्को मनले सम्झाउने गरेको बताए।

‘इगो आउँछ हो, आए पनि एउटा मनलाई अर्को मनले सम्झाउँछ। हरिवंशलाई फुर्ती गरेर म मदनकृष्ण बन्न सक्दिनँ। इगो गरेर केही फाइदा छैन। इगो नगर्दा फाइदा हुन्छ भने कसले इगो गर्नतर्फ लाग्छ,’ मदनकृष्णले हास्दै भने।

हरिवंशले मदनकृष्णलाई कसैले केही भन्दा आफ्नो चित्त दुख्ने बताए। ‘म त चोर्छु पनि झुट पनि बोल्छु। सबैलाई माया गरेर साध्य पनि हुँदैन। गाली पनि गर्छु कतिलाई चित्त पनि बुझाउ“छु। तर, मदन दाइको कहिल्यै पनि चोर्दिनँ। र, उहाँको हृदय मेरोजस्तो छ। कसैले केही भन्दियो भने मलाई चित्त दुख्छ’ हरिवंशले सुनाए।

एकले अर्कोलाई सफलताको कारण जस दिने गरेको मदनकृष्णले बताए। ‘पद र पैसामा लोभ नगर्ने। पद र पैसामा लोभ हुन सक्छ। हामीमा पनि लोभ छ। तर, हामी लोभिएका छैनौं। अर्को कुरा एकले अर्कोलाई सफलताका कारण जस दिन्छौं,’ उनले भने, ‘मेरो सफलताको जस हरिवंशलाई दिन्छु, हरिवंश तिमीले गर्दा यो राम्रो भो भनेर। चित्त नबुझेको कुरा मासमा बसेर होइन, दुईजना बसेर मिलाउँछौं अनि सबैको अगाडि एकले अर्कोको प्रशंसा मात्र गर्छौं। कुनै पनि समुदाय तथा अपांगता भएका व्यक्तिको मनमा चोट पुग्ने शब्द नबोल्नका लागि सचेत हुन्छौं। मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्छौं। यसलाई जीवनको कमाई भनेर सम्झिन्छौं। यसका लागि सबैबाट सहयोग पाएका छौं।’

मदनकृष्णसँगको मित्रतापछि आफूलाई फलिफाप भएको हरिवंशले बताए। ‘म किन इमान्दार हुन्छु भने मेरो स्वार्थले पनि हो। म स्वार्थी पनि छु। मदन दाइसँग मित्रता गरेर फलिफाप भएको छ। घाटा केही पनि छैन। उहाँसँगको सहकार्यपछि मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। यस्ता पेसागत स्वार्थ पनि छ। र, सफलताको सिढी उक्लिँदै यहाँसम्म आइपुगेका छौं। अब योभन्दा तल नखसोस् भन्ने अर्को स्वार्थ छ,’ हरिवंशले भने।

आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता नटिक्ने गरेको हरिवंशको अनुभव छ। तर, आफूहरूमा सात पुस्तालाई कमाउने प्रवृत्ति नभएको उनले सुनाए।

‘हामीमा अथाह अर्थात् सात पुस्तालाई कमाउने प्रवृत्ति छैन। राजनीतिक पार्टीमा केही नेताबाहेक अरूलाई चाहिँ दण्डहीनताको केही पनि सीमा छैन। जसले जति कमाए पनि जे गरे पनि त्यो मान्छे जेलमा बसेको इतिहास भर्खर –भर्खर सुन्न पाइएको छ।जसरी आउँछ खल्तीमा राख्यो। आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता टिकेन,’ हरिवंशको विश्लेषण छ।

आफूले मदनकृष्णलाई कहिल्यै जित्न नखोज्ने पनि हरिवंशले बताए। ‘मदन दाइलाई कहिल्यै म जित्न खोज्दै खोज्दिनँ। मदन दाइ सँगसँगै आम्दानी पनि गरिरहको छु। नाम पनि कमाइराखेको छु। एक्लै कमाउँछु भनेर हिँड्यो भनेदेखि इगो बढ्नेदेखि यो चिजहरू सकिएर जान्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्