राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिरी नगरपालिका प्रथम



दोलखा।

दोलखाको उत्तरी केन्द्र सिंगटीमा सञ्चालन भएको १० औं  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण पदक सहित जिरी नगरपालिका प्रथम भएको छ । जिरी नगरपालिकाले रजत ५ र कस्य ४ गरी १७ वटा पदक जितेको दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीले बताए।

प्रतियोगितामा ६ वटा स्वर्ण पदक सहित सह– आयोजक विगु गाउँपालिका दोस्रो भएको छ । विगु गाउँपालिकाले रजत ६ र कस्य ८ गरी २० वटा पदक जितेको छ । त्यसैगरी ५ वटा स्वर्ण पदक सहित तामाकोशी गाउँपालिका तेस्रो भएको छ । तामाकोशी गाउँपालिकाले रजत २ र कस्य २ गरी ९ वटा पदक जितेको छ ।
प्रतियोगितामा सहभागी भीमेश्वर नगरपालिकाले स्वर्ण १, रजत ४ र कस्य ४ गरी ९ वटा पदक, बैतेश्वर गाउँपालिकाले स्वर्ण ४, रजत ४ र कस्य ४ गरी १२ वटा पदक, मेलुङ गाउँपालिकाले स्वर्ण १ र कस्य १ गरी दुईवटा पदक, शैलुङ गाउँपालिकाले स्वर्ण २, रजत ४ र कस्य ३ गरी ९ वटा पदक, कालिञ्चोक गाउँपालिकाले स्वर्ण २, रजत ६ र कस्य ४ गरी १२ वटा पदक तथा गौरीशङ्कर गाउँपालिकाले स्वर्ण १ र कस्य १ गरी दुई वटा पदक जितेको छ ।

प्रतियोगितामा विजयी टिम तथा खेलाडिहरुलाई बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओली, मेलुङ गाउँपालिकाका प्रमुख हिरा थोकर, गौरीशङ्कर गाउँपालिकाका प्रमुख विश्वास कार्की, शैलुङ गाउँपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक दोलखाको विगु गाउँपालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्