प्रथम नेपालगञ्ज ब्याडमिन्टनको उपाधि प्रिन्स र रसिलालाई  



बाँके। 

प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपीएफका प्रिन्स दाहालले जितेका छन् ।
नेपालगञ्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाइनलमा नेपाल आर्मीका कबिर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले उपाधि जितेका हुन् ।

नेपाल प्रहरीका जीवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो भए ।दाहालले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१६,२१–१२ ले तथा नेपाल आर्मीका कबिर केसीले एपीएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

यसैगरी महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । नेपाल प्रहरी नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भए ।

नेपाल आर्मीकी रसिला महर्जनले नेपाल प्रहरीकी नीता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा एपीएफकी शोभाले कैलालीकी एलिना सुनारलाई २१–१०,२१–१२ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

यस्तै पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो ।

यसैगरी पुरुष युगल बी लेभलतर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो । सो जोडीले सेमिफाइनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो । नेपाल प्रहरीको चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका शरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भयो ।

त्यस्तै पुरुष युगल भेट्रान्स ४५ प्लस तर्फ  बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी प्रथम भयो । श्रेष्ठ र लाखेको जोडीले होटल स्टारलाईटका हरी खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो । बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भयो ।

पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५-१५ हजार नगद प्राप्त गरेका छन्।

यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५-१५ हजार प्राप्त गरे भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गरे ।

यस्तै पुरुष युगल बी लेभलले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१० हजार प्राप्त गरे । यसैगरी पुरुष युगल भेट्रान्स ४५ प्लसका विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जन्मजय तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगञ्जका कार्यबाहक मेयर कमरुद्दिन राई, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष सन्दिप जंग शाह, प्रमुख रेफ्री किरण करञ्जितलगायतले विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्