जबरजस्ती करणी मुद्दामा कसुरदार बालकलाई ६ महिनाभित्र जरिवाना तिरेमा कैद स्थगनको फैसला



धादिङ  । 

१५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालत  धादिङले मंगलबार कैद र जरिवानाको फैसला गर्दै कैद स्थगनको फैसला सुनाएको छ ।

जिल्ला न्यायधिस गोपालप्रसाद बास्तोलाको इजलासले १८ वर्ष मुनीको बालिकालाई मञ्जुरी लिएर गरेको करणी भएपनि जबरजस्ती करणी मानिने भएकोले कसुरदार बालकलाई ८ वर्ष कैद र ३ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जरिवाना बापत कसुरदारले तिरेको रकम पीडितलाई क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ (ग) बमोजिम १८ वर्ष माथिका  लागि १२ वर्ष कैद र ५ लाख जरिवाना हुने व्यवस्था बमोजिम कसुरदारको उमेर १८ वर्ष मुनीको भएकोले दुई तिहाइ सजाय गरिँदा सो सजाय गर्ने फैसला गरिएको हो ।

फैसला बमोजिम कसुदार १८ वर्ष मुनीको भएकोले मुद्दाको अन्तिम टुंगो लागेको ६ महिनाभित्र अदालतले तोकेको जरिवाना रकम बुझाएमा एक वर्ष ६ महिना कैद बसेर ६ वर्ष ६ महिना कैद स्थगन गरिएको फैसलामा भनिएको छ । कसुरदार जिल्ला अदालतको ०८० भदौ ११ गतेको आदेशले पुर्पक्षका लागि बालसुधार गृहमा राखिएको छ ।

कसुरदारले पीडितलाई ०८० साउन १२ गते बलात्कार गरेको भन्दै साउन २३ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिइएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते धादिङ अस्पतालमा भएको हो  ।

प्रतिक्रिया दिनुहोस्