वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण 



काठमाडौँ। 

भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्त पारेर सोमबार काठमाडौँमा पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानन्द तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक सनातनी रामा लोकार्पण गरिएको छ।

पिल्ग्रिम्स बुक हाउस काठमाण्डौद्वारा आयोजित धार्मिक समारोहबीच वेदमन्त्र वाचन गर्दै, नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कँडेल सहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्प वृष्टि गराई फरक विधिद्वारा पुस्तक लोकार्पण गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्मले नै अवको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा बौद्धिक जमातले यस विषयलाई विचार सम्प्रेषण र लेखनको माध्यमबाट उजागर गर्नुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रमका प्रमुख अतिथि विश्व धर्म संसदका विश्वशान्ति दूत संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले अध्यात्मले संसारलाई जोड्न सक्ने हुनाले शान्ति र सद्भावका लागि आध्यात्मिक विचारलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । उनले पुस्तकको रामको नाममा केही श्लोक गाएर पनि सुनाएका थिए । विशेष अतिथि पूर्व उपराष्ट्रपति परमान्द झाले धर्म दर्शनका विषयलाई पुस्तकले आम पाठक बिच विचार सम्प्रेषण गर्न मद्दत गर्ने कुरामा जोड दिँदै अयोध्यामा राम मन्दिरको राम मूर्तिमा प्राण प्रतिष्ठा हुने समयमै सनातनी रामा पुस्तक सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको बताए ।

हिन्दु विद्यापीठका प्राचार्य र आध्यात्मिक वक्ता डा  चिन्तामणि योगीले धर्म शास्त्रले मानव समुदायको कल्याणको बाटो देखाएकाले शास्त्रका गहन विचारलाई आत्मसात् गरेर अघि बढ्न सके मानव तथा विश्व कल्याण हुने बताए । उनले राम कुनै सीमा नभएर विश्व आदर्श भएको जिकिर गदै राममाथि जति हार्दिकता देखाए पनि अपुरो हुने धारणा व्यक्त गरे ।

लिटल एन्जल कलेज अफ म्यानेजमेन्टका प्राचार्य साहित्यकार डा. मित्रबन्धु पौडेलले पुस्तक भित्रका रहस्य खोल्दै जीवन, चेतना, अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास भएको र अङ्ग्रेजी भाषामै लेखिएको पुस्तक भएकाले विश्वभरिकै आध्यात्मिक पाठकलाई पुस्तकले समेट्ने टिप्पणी गर्दै भने, रामाले रामको महिमा गाउँछ । रामको आदर्शमाथि विश्वास जगाउँछ । रामप्रति हार्दिकता बढाउँछ  । सनातनी रामा आदर्श कर्मयोगीके रुपमा देखिएका छन् ।

 

पुस्तकका लेखक विवेकानन्द झाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाकै समयमा पुस्तक विमोचन हुन पाउनु गौरवको विषय भएको जिकिर गर्दै पुस्तकमा व्यक्ति परिचय भन्दा पनि चरित्र र व्यक्तित्वलाई बढी महत्त्व दिएर लेख्ने प्रयास भएको जानकारी गराए । पिल्ग्रिम्सका संस्थापक आध्यात्मिक व्यक्तित्व सनातनी रामा साहित्य र अध्यात्म संसारलाई जोड्ने विषय भएकाले आफूले आध्यात्मिक तथा धार्मिक पुस्तकको प्रवर्द्धनलाई जोड दिएको बताए । धार्मिक, आध्यात्मिक, सञ्चार र शिक्षा  क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पिल्ग्रिम्स बुक काठमाण्डौकी संचालिका एलिजावेथले स्वागत मन्तव्य दिएकी थिइन भने पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्