तालमेल नमिलेको गण्डकीको हार



पोखरा ।

भलिबलमा गण्डकी प्रदेशको टिम चर्चामा रहन्छ। कुनै बेला महिला भलिबलमा एकछत्र राज गरेको गण्डकीको अहिले भने नाम निशानै छैन।

गण्डकीमा अहिले पुरुषको टिम जति बलियो छ त्यति कमजोर छ महिलाको टिम। महिला खेलाडीको अभाव झेल्दै आएको गण्डकीमा यसपटक तीन भारतीय महिला खेलाडीसमेत भित्र्याइयो।

भारतीय राष्ट्रिय टिमको अन्तिम छनोट पुगेका खेलाडीहरू नै हुन् ती खेलाडी अर्थात् भारतमा राम्रै छाप छाडेका खेलाडी । तीनै खेलाडीसहित नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा गण्डकीको टिम चौथो संस्करणको टाइगर कपमा उत्रिएको हो।

तर, ती विदेशी र गण्डकीका खेलाडीबीच खेलमा तालमेल भने त्यति मिलेन। जुन रूपमा भारतीय खेलाडीबाट अपेक्षा गरिएको थियो सो अनुसारको खेल भने गण्डकीले खेल्न सकेन।

खेल खेल्न नसक्नु मात्र होइन कमजोर प्रदर्शनी रह्यो। गण्डकीलाई दोहोरो अंक जोड्नै धौधौ पर्‍यो । समूह ‘ए’ मा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हराएको छ।

पहिलो सेटमा पुलिसले गण्डकीमाथि २५–१० को फराकिलो जित हासिल गर्‍यो। दोस्रो सेटमा गण्डकीको झन खस्कँदो प्रदर्शन रह्यो। पुलिसले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा राख्यो । तेस्रो सेटमा २५–१६ ले हराउँदै सोझो सेटको जित हासिल गरेको हो।

गण्डकीको महिला टिममा यसअघि पनि श्रीलंकन खेलाडी समावेश गरिए पनि अपेक्षित नतिजा हात पार्न भने सकेन । एक संस्करणमा त गण्डकीको महिला टिम नै समावेश गरिएन । यद्यपि, गण्डकीले दोस्रो खेल भने खेल्ने बाँकी छ। यदि, नेपाली र भारतीय खेलाडीबीच तालमेल मिलेमा एपीएफसँगको खेलमा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ ।

पुलिस र डायमन्ड सेमिफाइनलमा

महिला तर्फको समूह ‘ए’ बाट नेपाल पुलिस ४ अंक बटुल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सोही समूहमा एपीएफको सम्भावनासमेत बलियो रहेको छ। पहिलो खेलमा पुलिसमाथि ३–२ सेटको जित हासिल गरेको एपीएफको २ अंक रहेको छ।

आज हुने गण्डकी विरुद्धको खेलमा सोझो सेटमा वा ३–२ को सेटमा जित हासिल गरे समूह विजेता बन्ने छ। गण्डकीलाई अन्तिम चारमा प्रवेश गर्नका लागि एपीएफ माथि सोझो सेटको जित निकाल्नुपर्ने हुन्छ । एपिएफले यसअघि पुलिसलाई ३–२ को सेटमा हराएको हो।

उता समूह ‘बी’ बाट भने चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड सेमिफाइनल प्रवेश गरेको छ। डायमन्ड एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो। मंगलबार आर्मीले हरियाणा टिम भारतलाई ३–२ को सेटमा हराउँदा डायमन्डको ढोका खुल्ला भएको हो।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा आर्मीले २५–२२ ले हरायो। दोस्रो सेटमा आर्मी २०–२५ ले पछि पर्‍यो। तेस्रो सेटमा समेत १८–२५ ले स्तब्ध भएको आर्मीले चौथो सेटमा खेलमा फर्कदै २५–१७ को जित हासिल गर्‍यो।

अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जीवितै राखेको हो। अब डायमन्डले हरियाणालाई सोझो सेटमा हराएमा आर्मीको अन्तिम चारको ढोका खुल्ला हुनेछ। डायमन्डले यसअघि आर्मीलाई ३–१ को सेटमा हराएको थियो।

यस्तै, मंगलबार नै भएको पुरुषतर्फको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा हराउन सफल भएको छ । एक सेट हारेको श्रीलंका आर्मीले खेलमा फर्कदै जित हासिल गरेको हो।

पहिलो सेटमा २३–२५ को हार व्यहोरेको श्रीलंका आर्मी खेलमा फर्कदै लगातार ३ सेट आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट २५–१९ ले जितेको श्रीलंका आर्मीले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो।

समूह ए तर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ।

प्रतिक्रिया दिनुहोस्