पोखरालाई फेरि मन्त्रमुग्ध बनायो कन्दराले



पोखरा ।

विदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
हङकङ पोखरा निर्मोही आफ्नो को छ र?
यो गीत नसुन्ने र नगुनगुनाउने कमै होलान्।

बालबालिकादेखि बूढापाकासम्म लोकप्रिय छ यो गीत। यो मात्र होइन तिमी पारी त्यो गाउैँमा, म वारी यो गाउैँमा नगाउने पनि कमै होलान्। यीबाहेक अन्य त्यस्ता थुप्रै गीत छन्, जुन सधैँ ताजा लाग्छन्।

जुन गीत हुन् लोकप्रिय सांगीतिक समूह कन्दरा ब्यान्डको। पोखराको सशक्त ब्यान्ड कन्दराको गीत हङकङ पोखरामा भनेझैँ ब्यान्डका सबैजना तितरवितर भए, विदेश गए, कमाए।

तीन दशक अघिसम्म नेपालमा कन्दरा ब्यान्ड भनेपछि हुरुक्कै हुने कयौं थिए, तर बीचमा त्यो कन्दरामै हरायो अर्थात् घामै नपर्ने सधैँ ओझेल र अन्धकारमा विलय भयो।

तीन दशकपछि भने कन्दरा पुनः फर्किएको छ, त्यो पनि जहाँबाट शुरु भयो त्यहीँबाट। शुक्रबार पोखरामा कन्दराले पहिला घरदेश अनि परदेश भन्दै तीन दशकपछि लाइभ कन्र्सट गर्‍यो।

जहाँ साना अबोध बालबालिकादेखि वृद्ध/वृद्धा, युवा सबै उमेरका मानिसको भिड लाग्यो। कन्दराको कन्सर्टमा पोखरा यसरी झुम्यो कि त्यसले कन्दरालाई ३० वर्षअघिकै समयमा पुर्‍यायो। इति मात्र होइन, कन्दराको गीत सुन्दै आइरहेको पछिल्लो समयको नेपालमा चर्चित लक्ष्य ब्यान्डसमेत साथ दिन आइपुग्यो।

लक्ष्य ब्यान्ड कन्दराको कन्र्सटमा आफ्नो प्रस्तुति दिन पाउँदा फुरुङ्ग भएको थियो। लक्ष्यको त्यो धुनले आम संगीत प्रेमीलाई मोहित तुल्याइरहेकै थियो, जब कन्दराको इन्ट्री भयो त्यहाँ छुट्टै कोलाहल शुरु भयो।

पोखरामा लाइभ कन्सर्ट विरलै हुने गरेका छन्। मेला, महोत्सव र यहाँका बार क्लबमा मात्र म्युजिक ब्यान्डको प्रस्तुति रहने गरेको छ। तर, शुक्रबार भने कन्दराले लाइभ कन्सर्ट मात्र दिएन, पोखरालाई कन्र्सटको अझै उच्च सम्भावना रहेको सावित गर्दै संगीत प्रेमीलाई एकत्रित गर्ने काम पनि गर्‍यो।

कन्दराले गाएका केही गीतबाहेक सबै गीत युवा पुस्ताका लागि नयाँ नै थिए। तर, ती गीत भने दशक अघिका थिए। ‘यो नयाँ पुस्ताका लागि नयाँ होला। यहाँ आउने पुरानाका लागि सम्झना। हामी अब तपाईंहरूलाई त्यो समयमा पुर्‍याउँछौं, जहाँ हामी छुट्टै संगीतको दुनियाँमा थियौँ’ कन्सर्टमा भोकलिस्ट विवेक श्रेष्ठ भन्दै थिए।

उनको आवाजमा युवाहरू चिच्याइरहेका थिए। विवेकले शुरुवातमा पुराना मध्येका धेरैले नसुनेका गीत गाए। चर्चित गीत भने अन्तिमतिर मात्रै गाए। त्यतिबेला उपस्थित दर्शक चिच्याउँदै थिए, ‘विवेक दाइ वान्स मोर, वान्स मोर।’

तीन दशकअघि हराएको कन्दरा ब्यान्ड पोखराबाट लाइभ कन्र्सटको सुरुवात गर्दै देशयात्रामा निस्किएको छ। पोखराको प्रचार गर्दै देश मात्र नभई परदेशसमेत जाने योजनामा कन्दरा छ। जसलाई पोखराले अकल्पनीय साथ दियो।

प्रतिक्रिया दिनुहोस्