ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइलीको प्रेम, नृत्य र भावनात्मक सम्बन्धलाई समेट्दै फिल्म सिन्दुरे जात्रामा संगृहित बाँसैको सुप्लाके बोलको गीत सार्वजनिक गरिएको छ।
सरोज पौडेलको निर्देशनमा बनेको फिल्मको गीतसंगै सार्वजनिक फिल्मको फस्ट लुक पोस्टरले पनि दर्शकमाझ उत्सुकता बढाएको छ। सारंगी फिल्म्स्को ब्यानरमा नेम महर्जनले निर्माण गरेको फिल्मको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर, सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ। लोकलयमा आधारित डान्सिङ शैलीको गीतमा प्रेमिल जोडीबीचको आकर्षण, प्रेम, लाज, इसारा, विश्वास र आश्वासन प्रस्तुत गरिएको छ। यसको गीत टिकटकमा मात्रै २० हजारभन्दा बढी भिडियोमा प्रयोग भएको छ।
गीतको भिडियोमा विजय बराल र अञ्जना बराइलीको आकर्षक नृत्य छ। गीतले फिल्मका मुख्य पात्रबीचको प्रेम सम्बन्धलाई उजागर गरिरहँदा सार्वजनिक फस्ट लुक पोस्टरले भने उनीहरूको भावनात्मक सम्बन्ध र कथामा आउने संकटको संकेत गरेको छ। पोस्टरमा विजय र अञ्जना दुवै रोइरहेको अवस्थामा प्रस्तुत छन्। विजयको छातीमा टासिएकी अञ्जना आँसु झारिरहेकी छन् भने विजयका आँखामा पनि आँसु देखिन्छ। फिल्मको शीर्षकअनुसार पोस्टरको कलरले कथाको मुडसमेत बताउने प्रयास गरेको छ।
सिन्दुरे जात्रा विजय बराल र अञ्जना बराइलीको दोस्रो सहकार्य हो। यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल फिल्म पूर्णबहादुरको सारंगीमा संगै काम गरेका थिए।
फिल्ममा विजय र अञ्जनासंगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायतका कलाकारको अभिनय रहेको छ।
सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंको छ। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता, अनिश अधिकारी लाइन निर्माता र दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ बाबु डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। आगामी मंसिर १८ गते रिलिजमा आउने फिल्ममा प्रशान्त सिवाकोटी, रिदम क“डेल र नन्दु परियारको संगीत रहेको छ।











प्रतिक्रिया