सर्जक प्रकाश पण्डितको ‘मुटुभित्र नेपाल’ बजारमा  (भिडियोसहित) 

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रशंसा 



काठमाडौँ। 

देशभक्ति र राष्ट्रियताको खडेरी पर्दै गइरहेको अवस्थामा सर्जक प्रकाश पण्डितले राष्ट्रिय भावना र देशभक्तिको गाथा समेटिएको म्युजिक भिडियो सहितको कर्णप्रिय गीत ‘मुटुभित्र नेपाल’  बजारमा ल्याएका छन् । उक्त  राष्ट्रिय गीत शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रहेको  ‘मर्दा पनि मुटुभित्र नेपाल….. भनेर लेख्न पाइयोस्’ भन्ने लयले सबैको मन आकर्षित गर्छ ।  सर्जक पण्डित काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हुन्।

लक्ष्मी पण्डितको प्रस्तुति रहेको सो गीत चर्चित गायक थानेश्वर गौतमले गाएका हुन् । महानायक राजेश हमालको अभिनय रहेको उक्त  गीतले देशको माया ममतालाई निकै मीठो किसिमले दर्साएको छ ।

 गीतका सर्जक प्रकाश पण्डितले आम नागरिकमा देशप्रतिको माया ममता र आस्था बढाएर राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले मुटुभित्र नेपाल गीतको सिर्जना गरिएको बताए । पण्डितले गीत सार्वजनिक भएपछि यसले आफ्नो मुलुक नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्न आवश्यक भूमिका निर्वाह गरेको र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यसले राम्रो प्रशंसा पाइरहेको बताए।

 ‘नेपालको गाथा गाउन सबैलाई प्रेरित गर्ने किसिमले  गीतले सार्थक भूमिका निर्वाह गरिरहेको छ, देशभक्तिको भावना हुने जोसुकैले पनि गीत हेर्ने र सुन्नेछन् भन्ने विश्वास लिएको छु ।  ’गीतका सर्जक पण्डितले भने ।

नेपालको राष्ट्रिय झन्डालाई चम्काउँदै सुरुवात गरिएको सो म्युजिक भिडियो सहितको  गीतमा नेपाललाई चिर कालसम्म अमर राख्ने रहर पोखिएको छ । मर्दा पनि मुटुभित्र नेपाल …नेपाल….नेपाल भनी लेख्ने रहर छ ’भन्ने लय सहितको गीतले सबैलाई मन्त्रमुग्ध र तरङ्गित पारेको छ ।

यस्तै  गीतमा संसार भरि नेपालीलाई हाँसीखुृशी देख्ने रहर छ … भनेर मुलुकमा समृद्धिको कामना गरिएको छ । बालबालिकाको मस्तिष्कमा नै राष्ट्रिय झण्डाको छाप पारिएको छ । यस्तै गीतमा वीरहरुको रगतले सिँचिएको मेरो प्यारो देश …..भन्दै देशको महत्वलाई थप उजागर गरिएको छ । सो लय मार्फत यो देश सानोतिनो दुखले बनेको होइन भन्ने सन्देश दिइएको छ ।

 यसैगरि देशको लागी जस्तोसुकै कुर्बानी गर्न पनि पछि नपर्ने अडान राख्दै गीतमा भनिएको छ –‘बाँचेसम्म ढाल बनि देशको सीमा छेक्ने रहर छ ……।’ यो लय सुन्दा मुलुकको रक्षाको लागि लड्ने प्रेरणा जोसुकैमा पनि जागृत हुन पुग्छ ।

 आफ्नो देश नेपाल अजर अमर  रहनु पर्छ भन्दै गीतमा भनिएको छ ‘ चन्द्र सूर्य आकाशमा रहेसम्म मेरो मुलुक बाँचोस् । त्यस्तै  समुन्द्र देखि अकाश जहाँ जादा पनि देशकै झन्डा बोक्ने रहरसमेत गीतमा व्यक्त गर्दै र देशप्रति अगाध माया व्यक्त गर्दै भनिएको छ ‘सागर देखि सगर सम्म देशको झन्डा बोक्ने रहर छ ।

 नेपाललाई विश्वमा चिनाउन सबैजना कम्मर कसेर लाग्नुपर्ने सन्देश दिँदै गीतको अर्को लयमा भनिएको छ ‘विश्व मानचित्रमा देशको नाम राख्ने रहर छ ….। निकै आकर्षक शब्द तथा स्वर रहेको र सबैलाई राष्ट्रियता प्रति उद्वेलित बनाउने सो म्युजिक भिडियो  १२ मिनेट ३० सेकेन्डको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्