दोर्दी ९ मा ‘एक घर–एक करेसाबारी’ अभियान सुरु



 लमजुङ। 

लमजुङको दोर्दी गाँउपालिका वडा नं. ९ ले ‘एक घर–एक करेसाबारी’ कार्यक्रम सुरु गरेको छ । आफ्नै करेसाबारीको अर्ग्यानिक तरकारी खाउ स्वास्थ्य बनौं भन्ने नाराका साथ वडाले ‘एक घर–एक करेसाबारी’ अभियान सुरु गरेको हो ।

करेसाबारीलाई अनिवार्य गर्दा कृषिखेतीको प्रवद्र्धन हुने र अर्ग्यानिक तरकारी घरमै उत्पादन गरी विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको वडाध्यक्ष आशिष तामाङले बताए ।

वडा कार्यालयले वडा नं. ९ भित्रका सबै टोलहरुमा अनिवार्यरूपमा ‘एक घर, एक  करेसाबारी’ निर्माण गर्न प्रेरित समेत गर्दे आएको छ । त्यसका लागि वडाले प्रत्येक घरलाई तरकारीका बीउ निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ ।

एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र नभई घर वरपरको वातावारणलाई समेत सुन्दर र स्वच्छ राख्ने वडा अध्यक्षको तर्क छ । वडाभित्रका पाँचसय घरधुरीले अनिवार्यरूपमा करेसाबारी निर्माण गर्ने र त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको वडा अध्यक्ष तामाङले बताए ।
एक घर–एक करेसाबारी कार्यक्रममा वडा अध्यक्षसहित हिलेटक्सार स्वाथ्य चौकी प्रमुख रामचन्द्र बोहोरा लगायत वडा सदस्यहरुको उपस्थितिमा टोल टोलमा गई करेसाबारी व्यवस्थापनको बारेमा प्रशिक्षण समेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्