मेयरको ईँट्टा भट्टीबाट चोरीका काठ बरामद



वीरगन्ज। 

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीको ईट्टाभठ्ठाबाट ठूलो परिमाणमा चोरी तस्करीको अवैध काठ दाउरा बरामद भएको छ । जिल्ला वन कार्यालय पर्साले विशेष सुचनाको आधारमा बुधबार पर्सागढी नगरपालिका वडा नम्बर ७ फसलवरिया चैनपुरमा तेलीले सञ्चालन गरेको सूर्य इट्टाभठ्ठा उद्योगमा छापा मारेको थियो।

त्यस क्रममा जंगलबाट गैरकानुनी रुपमा रुख फडानी गरी गोलिया काठ चिरेर दाउरा बनाइएको १२५ घनफिट काठ दाउरा बरामद भएको डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले जानकारी दिए । ईट्टाभठ्ठामा तस्करी गरी ल्याइएको काठ दाउरा फेला परेपछि जफत गरिएको डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख मियाँले बताए । उनका अनुसार बरामद काठ दाउराको मुचुल्का उठाइ कारबाहीको आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

इट्टा भठ्ठा सञ्चालक तेलीविरुद्ध पनि कारबाही प्रक्रिया अगाडि बढाइने मियाँले बताए । उनका अनुसार नेपालको कानुनले इट्टा भठ्ठामा दाउरा वा काठ बालेर इट्टा पोल्न प्रतिबन्ध लगाएको छ। इट्टा उद्योगको आईई प्रतिवेदनमा कोइला बालेर मात्रै इट्टा पोल्नु पर्ने उल्लेख छ। तर तेलीको इट्टा भठ्ठामा इट्टा पोल्नका लागि जंगलबाट चोरी तस्करी गरी ल्याएर काठ दाउरा भण्डारण गरेको फेला परेपछि बरामद गरिएको मियाँले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्