“सुतेको समुद्र” कृतिको दोश्रो संस्करण विमोचन



काठमाडौँ।

नेपाली साहित्यका चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह’सुतेको समुद्र’ कृतिको दोश्रो संस्करण विमोचन गरिएको छ।

नेपाल स्रष्टा समाजको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो। प्राडा दयाराम श्रेष्ठ, श्री ओम श्रेष्ठ रोदन, कथाकार किशोर पहाडी तथा लेखक स्वयमले सामुहिक विमोचन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि दयाराम श्रेष्ठले नाटकीय ढङ्गले कथाकार प्रेरणाको लेखन शैली,विषय वस्तु र रचनाकारिताको चर्चा गर्दै ३० को दशकदेखि लेखन कार्यमा सक्रिय रहेका प्रेरणाले कथा ,कविता,नाटक,उपन्यास,जीवनी, नियात्रा विधामा समेत सशक्त रूपमा कलम चलाउँदै आएको बताए।उनले गोविन्द गिरी प्रेरणालाई नामले भन्दा पनि उनका कृतिहरूबाट चिनेको बताए।चालिस वर्ष अघि नै प्रकाशित भइसकेको उक्त कथा सङ्ग्रह चालिस वर्षपछि पनि उत्तिकै महत्त्वपूर्ण भएको बताउंदै यो दोस्रो संस्करणलाई मानस पुत्र,औरस पुत्र वा छवि पुत्र जे नाम दिए पनि एउटा गहकिलो पुस्तक भएको तथा गोविन्द गिरी प्रेरणालाई अझै सशक्त कृतिहरू लेख्न उनले शुभकामना दिएका थिए।

कार्यक्रममा कथाकार किशोर पहाडीले अहिले छापिएको पुस्तकको आवरण बनाउने कलाकार स्वर्गीय कवि जीवन आचार्यको संस्मरण गर्दै ३० को दशकदेखिका स्रष्टा मित्र गोविन्द गिरी प्रेरणाको बहुआयामिक ब्यक्तित्वको चर्चा गरेका थिए। उनले गोविन्द गिरी प्रेरणा स्पष्ट वक्ता भए जस्तै स्पष्ट एवम् उर्जाशील लेखक समेत भएको र लेखाइमा इमानदार रहेको बताए।

कथाकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्रा बारे प्रकाश पार्दै स्व.जीवन आचार्यले तयार पारेको आवरणमा दोस्रो संस्करण छाप्न पाउँदा आफू ज्यादै भावुक भएको र स्रष्टा जीवन आचार्यप्रतिको संस्मरण ताजा रहेको बताए।
उनले हालसम्म १५७ वटा कथा लेखेर छापिएको बताए । विसं २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’चालिस वर्षपछि पनि पुनः साझा प्रकाशनबाट नै प्रकाशित हुँदा आफू ज्यादै हर्षित भएको भन्दै साझा प्रकाशनलाई हार्दिक धन्यवाद दिएका थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ले सामाजिक सञ्जालको समयमा लेखक तथा कविहरू प्रशस्त देखा पर्ने गरेको र छोटो अवधिमा चर्चामा आउन चाहने र चर्चा चुलिन नपाउँदै हराउँदै जाने गरेको यथार्थ औंल्याए। उनले हरेक विधामा उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका गोविन्द गिरी प्रेरणाको चालिस वर्षपछि पनि संस्करण निस्कनु कुनै चानचुने कुरा नभएको बताए। उनले सुतेको समुद्र पुनः उठेको छ, उठेको समुद्रले निरन्तरता पाओस् भनेर शुभकामना दिए ।

दयाराम श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टा समाज नेपालका उपाध्यक्ष चेतनाथ कणेल’हरित’ ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मधु पाठकले गरेका थिए।
विगत २ दशकदेखि अमेरिकामा वसोवास गर्दै आएका कथाकार प्रेरणाका ६ कथा संग्रहसहित विविध विधाका २७ कृति प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्