राष्ट्रपति, प्रधानमन्त्री र गृह मन्त्री हेलिकप्टर चढ्न प्रतिस्पर्धा गर्छन्, एमाले स्वयंसेवामा खट्छ : केपी ओली 



काठमाडौँ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको बताएका छन्  ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिएका  एमालेका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै  राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृह मन्त्री र अन्य मन्त्री हेलिकप्टर चढ्न व्यस्त भए पनि पीडितको उद्धार, राहत र पुनर्स्थापनाको काम हुन नसकेको बताए । ‘हेलिकप्टर उडाउन कम्पिटिसन हुन्छ, हेलिकप्टर बसाउने ठाउँ पाउँदैन, अस्पतालमा नेताहरूको लर्को लागेर बिरामीको उपचार हुन पाउँदैन, यता नेहरुको चाकडीमा ब्रिफिङ गर्न डाक्टरहरू जानु पर्छ, प्रमुख जिल्ला अधिकार, प्रहरीहरू नेताको सुरक्षामा खटिँदा ठिक हुन्छ, त्यसमा जान भ्याउँदैनन्, सक्दैनन्’, ओलीले भने ।

पीडितको लागि आएको सहयोग थन्किएर बस्दा पनि सरकारले पीडितसम्म पुर्‍याउन नसकेको ओलीले बताए । बैँकमा आएर रकम बस्दा पनि पीडितको हितमा सरकारले खर्चिन नसकेको उनको भनाइ छ । ‘बैँकमा राख्नको लागि रकम दिएको हो ?’ ओलीले प्रश्न गरे ।

एमालेका स्वयंसेवकले अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा पनि सरकारले के हेरेर बसेको भन्दै उनले प्रश्न गरे । एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार हेरेर बसिरहेको उनले बताए।

सही चिन्तन नभएसम्म केही काम गर्न नसकिने ओलीले बताए । ‘एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उनले भने ।

मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिए । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उनले बताए ।

ओलीले काहीँ समस्या पर्‍यो भने नेकपा एमाले पुग्ने बताए । नेकपा एमाले सान सौगात र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढङ्गले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने उनले प्रष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्