भ्रष्‍टाचार मुद्दामा दोषी ठहर यातायातका तत्कालीन प्रमुखसहित ५ जना कारागार चलान



काठमाडौँ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई पक्राउ गरी जेल चलान गरेको हो।

सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो।

उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका हुन्।

विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ। त्यस्तै मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना तोकेको छ ।कुमारबहादुरको ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ।

टीकारामको ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोठ ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ।

प्रतिक्रिया दिनुहोस्