११ केजी सुन तस्करी प्रकरण: नौ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश



दोलखा।  

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाकाहुदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलाशले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

तस्करी आरोपमा पक्राउ परेको १५ जना (एक बालक सहित) मध्य नौ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, तीन जनालाई धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश जिल्ला न्यायधिश श्रेष्ठको इजलाशले गरेको हो ।

शुक्रवार दिईएको आदेश अनुसार ११ केजी सुन तस्करीका मुख्य नाईके चिनिया नागरिक आकर लामा र ग्याङ रु, नुर्बु छिरीङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी) तथा लालबहादुर तामाङ (सिन्धुपाल्चोक) लाई पुर्पक्षको लागि थुनामा राख्न भनिएको छ ।

अदालतको आदेश अनुसार महिमा माझी (रामेछाप) लाई एक करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्य (ललितपुर) लाई ९६ लाख ५० हजार र तिलक बिक (बाग्लुङ) लाई ८८ लाख धरौटीमा छोड्न भनिएको छ । नाबालक (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), र सुनमाला तामाङ (दोलखा) लाई भने साधारण तारेखमा छोड्न आदेश दिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अञ्चन भट्टराईले बताए ।

यस अघि जिल्ला  प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौँले संयुक्त रुपमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । प्रहरीको अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको जनाइएको थियो ।

पक्राउ परेकाहरुबाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपियाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताएका थिए ।

उनीहरुले २०७९ साल मंसिर देखी २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ  १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको थियो ।

गत असोज १० गते समेत बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरुबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्