चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्वहरु सलबलाए : अध्यक्ष ओली



डडेल्धुरा।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल हुँदै गएकाले प्रतिगामी तत्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयासमा लागिरहेको बताएका छन् ।

राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुग्नु भएका ओलीले शुक्रबार सदरमुकामस्थित बसपार्कमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै  प्रतिगामी तत्वहरू आतङ्ककारी गतिविधिमा लागेको टिप्पणी गरे । ‘१५ वर्षअघि सकिएको राजतन्त्रलाई चिहानबाट फर्काउन भूतप्रेतवादी तत्वहरु सलबलाएका छन्,’ उनले भने, ‘तर नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै परिष्कृत लोकतन्त्रका पक्षमा दृढ छन् ।’

पुर्वप्रधानमन्त्री समेत रहेका  एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन्  । ‘हामी अहिले मिसन २०८४ भनिरहेका छौँ । यहीबिचमा यो सरकार कसैले ढाल्नु पर्दैन, हल्लिराखेको छ,’ उनले भने , ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’

उनले सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको जिकीर गरे । वर्तमान सरकारको नालायकीपनका कारण लोकतन्त्रबिरोधीहरु व्यवस्था परिवर्तन गर्ने खेलमा लागेको दाबी गर्दै  अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थाको विकल्प केवल लोकतन्त्र हुने बताए ।

शुक्रबार बिहानै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर ‘तपाईको गृहजिल्लामा आएको बेला सम्झेको’ भनेका  ओलीको टेलिफोन वार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौँ । राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भनेको सुनिछ । उताबाट देउवाले एमालेले थालेको अभियानलाई शुभकामना दिनु भएको भिडियोबाट प्रस्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्