मुगु सामूहिक हत्या प्रकरण : एकजना आफन्त पक्राउ



मुगु।

यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ। प्रहरीले आज उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्