नगरकोटलाई पर्यटकीय हब बनाउन सडक महोत्सव



भक्तपुर ।

पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सञ्चालन हुन लागेको हो ।

महोत्सवको तैयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नवीन गुरुङ्गले नगरकोटको पर्यटन प्रबद्र्धन गरी स्थानीय रैथाने वस्तुका उत्पादनकर्ताहरुलाई लाभान्वित गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ । समितिका अध्यक्ष नवीन गुरुङ्गले नगरकोटको पर्यटन प्रबद्र्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पु¥याउन नगरकोट भ्रमण वर्ष २०८२ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

महोत्सवमा स्टल संख्या ३० रहने छ । नगरकोट प्रहरी चौकी तल मूल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिब प्रदिप अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा प्रत्यक्ष सांगीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारिता लगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो । उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुने तयारी भइरहेको उहाँको भनाइ छ ।

महोत्सवमा एक लाख हाराहारी सहभागी हुने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।नगरकोटस्थित मुख्य चोकमा आयोजना हुने महोत्सव अवधिभर यहाँका ठूला तथा साना होटलहरुले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । भूकम्प र कोरोना भाइरस संक्रमणले थला परेका नगरकोटको पर्यटन व्यवसायलाई लयमा ल्याउन विभिन्न गतिविधि गर्ने क्रममा महोत्सवलाई पनि एउटा माध्यम बनाइएको समितिले जनाएको छ । नगरकोटलाई पर्यटकीय हब बनाउन चाँगुनारायण नगरपालिकाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको छ ।समितिका अनुसार नगरकोटमा हाल ठूलासाना गरी ८२ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्